
सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-८ की निर्मला ढकाल अमर सहिद प्रहरी परिवारकी सदस्य हुन्। सहराविहीन भएकी उनलाई जीविकोपार्जनका लागि ठूलो समस्या थियो। उनीजस्तै महिलालाई परिवार गुमाएको पीडा भुल्ने एउटा प्रमुख माध्यम बनेको छ फूलखेती।
उनीसहित १५ जनाको सहिद परिवारले २२ कठ्ठा क्षेत्रफलमा पुष्पखेती सुरु गरेको छ। उनीहरूले वीरेन्द्रनगर नगरपालिका-५ चिसापानीमा रहेको प्रदेश प्रहरीको सरकारी जग्गामा फूलखेती गरेका छन्। परिवार गुमाएको पीडा भुल्ने, जीविका चलाउन आयआर्जन गर्ने तथा तिहारमा बाहिरबाट आयात गरिने फूललाई विस्थापित गर्ने उद्देश्यले फूलखेती गरेको ढकाल बताउँछिन्।
फूलखेतीमा लागेका महिलालाई आर्थिक सहयोग हुनुको साथै हौसला प्रदान गरिरहेको महिलाहरू बताउँछन्। फूलखेतीमा लाग्नुअघि उनीहरूलाई प्रहरी महिला संघले तालिम दिएका थियो। साथै प्रदेश प्रहरी श्रीमती संघको तीन लाख पाँच हजार अनुदान उपलब्ध गराएको नेपाल प्रहरी महिला संघ कर्णाली प्रदेशकी अध्यक्ष विन्दु अधिकारीले जानकारी दिइन्।
अमर सहिद प्रहरी परिवारले फूलखेतीबाट यस वर्षदेखि आम्दानी गर्ने प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले बताए। फूलखेती कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आवश्यक सहयोग तथा सहजीकरण गरिरहेको छ।
रमाउँदै किसान
गुर्भाकोट नगरपालिका-१४ का हीराबहादुर घर्तीमगरले करिब ३० कठ्ठा जग्गामा फूलखेती गरेका छन्। विशेषगरी तिहारलाई लक्षित गरेर उनले सयपत्री र मखमली फूलखेती गरेका हुन्। मगरको कर्णाली ड्रागन फ्रुट फार्मले अघिल्लो वर्ष पनि फूलखेती सञ्चालन गरेको थियो। गत वर्ष पाँच कठ्ठा जग्गामा फूलखेती गरेका उनले अहिले थप विस्तार गरेका छन्। घर्तीमगरले भने, ‘गत वर्ष करिब ६-७ क्विन्टल फूल बिक्री गरेका थियौँ।’
उनले तिहारअघि करिब १५ क्विन्टल फूल वीरेन्द्रनगरस्थित कोल्ड स्टोरमा राखेका छन्। अव तिहारका समयमा फार्मबाट थप ५० क्विन्टल फूल उत्पादन हुने उनको अनुमान छ।
नेपालमै फूल उत्पादनको सम्भावना भए पनि तिहारका समयमा भारतबाट फूल आयात हुन छाडेको छैन। यो देखेर नै फूलखेतीलाई थप विस्तार गरिएको उनले बताए। घर्तीमगरले भने, ‘फूलखेतीमा आम्दानीको सम्भावना प्रशस्तै छ। त्यसैले फूलखेती थप विस्तार गरेको हुँ।’
तिहार लक्षित मात्र नभएर अन्य समयमा समेत फूलखेतीलाई निरन्तरता दिने उनको योजना छ। उनले भने, ‘विभिन्न कार्यक्रममा समेत फूल चाहिन्छ। सभासम्मेलनमा फूल पुर्याउने उद्देश्यले अरू समयमा समेत फूलखेती गर्ने योजनामा छौँ।’ स्थानीय सयपत्रीको फूलखेती गर्ने योजना उनको छ।
वीरेन्द्रनगर नगरपालिका-३ स्थित खुसी कृषि तथा पशुपन्छी फार्मले पनि चार कठ्ठा जग्गामा नौ सय बिरुवा सयपत्री फूल उत्पादन गरेको छ। चाडपर्व, विवाह, समारोहमा फूलको माग देखेपछि व्यावसायिक उत्पादन थालिएको फार्म सञ्चालक रमा खड्का केसीले जानकारी दिइन्।
उनले तिहारका बेला एक किलोग्राम सयपत्री सात सय पचास रुपैयाँमा बिक्री गरिरहेकी छन्। फार्मले दसैँदेखि अहिलेसम्म ६० केजी बिक्री गरेको छ। सुर्खेतमा फूल व्यवसायको राम्रो सम्भावना भएको उनको अनुभव छ। तिहारका लागि एक क्विन्टल सयपत्री बुकिङ भइसकेको केसीले जानकारी दिइन्।
गत वर्ष एक हजार बोट सयपत्री फूल खेती गरेको कर्णाली ड्रागन कृषि तथा पशुपक्षी फार्मले खेती विस्तार गरेको छ। वीरेन्द्रनगर-१२ स्थित उक्त फार्मकी सञ्चालक सुमना अधिकारीले तीन हजार बोट सयपत्री फूलखेती गरिरहेको जानकारी दिइन्।
उनले भनिन्, ‘अघिल्लो वर्ष एक हजार बोट लगाएर परीक्षण गरेका थियौँ। अहिले तीन हजार बोट लगाएका छौँ।’ यसअघि फार्मले फूलबाट मात्रै करिब ९० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्। २०७९ मा सुमनाको फार्मले करिब दुई क्विन्टल फूल बिक्री गरेको थियो।
रमा, हीराबहादुर र सुमनाको फार्ममात्र होइन अहिले कर्णालीका सुर्खेत, सल्यान र दैलेखमा पनि व्यावसायिक रुपमा फूलखेती गर्नेको संख्या बढेको छ। व्यावसायिक किसान तथा कृषि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले समेत फूलखेती सुरु गरेको कृषि विकास निर्देशनालयका अधिकृत यामबहादुर रानाले बताए।
‘यसअघि सुर्खेतमा तिहारलाई लक्षित गरेर फूलखेती धेरै गरिएको थिएन। अहिले सुर्खेतसहित अन्य जिल्लामा समेत फूलखेती सुरु भएकोछ ’, उनले भने।
कर्णालीभर ८० रोपनीमा फूलखेती
कर्णालीमा सञ्चालनमा रहेका फूलखेतीको तथ्यांक छैन। तर कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांकअनुसार कर्णालीमा ८० रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ।
सल्यान र सुर्खेतमा सबैभन्दा धेरै फूलखेती गरिएको निर्देशनालयका अधिकृत रानाले बताए। पछिल्ला केही वर्षमा कर्णालीमा व्यावसायिक फूलखेती गर्नेहरुको संख्या बद्दै गएको उनले बताए।
मुगुमा प्लास्टिकका माला निषेध
मुगुको छायाँनाथ रारा नगरपालिले प्लास्टिकका माला तथा खादा निषेध गरेको छ। सार्वजनिक कार्यक्रम प्लाष्टिकका फूलमाला निषेध गरिएको हो।
चाडपर्वको समयलाई लक्षित गरेर पालिकाले आयात गरेर ल्याइने खादा, प्लास्टिकका फूलमालाका सामग्री प्रयोगमा रोक लगाएको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले बताए।
‘स्थानीय रुपमा किसानले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट आयात हुर्ने खादा र प्लास्टिकका मालामा रोक्न नगरपालिकाले रोक लगाउने निर्णय गरेको हो’, नगरप्रमुख भामले भने, ‘अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानीय स्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइनेछ।’
खादा र प्लास्टिकका माला प्रयोग बढ्दै जाँदा वातावरणमा समेत असर हुने तथा स्थानीय स्तरमा उत्पादित फूलले बजार नपाउने उनले बताए।
पाँच लाख माला आयात हुने अनुमान
नेपालमा गत वर्ष करिव सात लाख २० हजार सयपत्रीको माला भारतबाट आयात भएको थियो। अहिले भने नेपालमै तिहारलाई लक्षित गरेर व्यावसायिक फूलखेती बढ्न थालेपछि भने आयात घट्न थालेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।
‘नेपालमा १५ देखि २० प्रतिशत मात्र माला आयात हुने हाम्रो अनुमान छ। अहिले उत्पादन बढिरहेको पनि छ। गत वर्षभन्दा भारतबाट आयात हुने फूल घट्न थालेको छ।’
अध्यक्ष तामाङका अनुसार करिब एक लाख ८० हजार केजी फूल आयात हुने सम्भावना छ। मालाका रूपमा हेर्दा यो करिब पाँच लाख वटा हो। नेपालमा तिहारका समयमा मात्र करिब नौ लाख केजी फूल खपत हुने देखिएको छ।