काठमाडौँ- जनप्रदर्शन भन्दै काठमाडौँका सडकमा प्रदर्शन गर्न लागेका युवा संघ र दुर्गा प्रसाईलाई अतिरञ्जित र सार्वजनिक मर्यादामा खलल नपार्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। संविधान र कानुन मिच्ने र जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने काम नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुरोध गरेको हो। प्रशासनले विज्ञप्तिमार्फत प्रदर्शनका नाममा कानुन मिचेमा वा सामाजिक सद्भाव विथोलेमा कानुनी कारबाही गर्ने समेत बताएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको हस्ताक्षरित विज्ञप्तिमा दुवै समूहको कार्यक्रम एकै ठाउँमा परेकाले स्थान परिवर्तन गरिएको जानकारी दिइएको छ।
विज्ञप्तिमा उल्लेख छ, ‘राष्ट्रिय युवा संघ, नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा कार्यक्रमस्थल तोकी एउटै मिति र समयमा कार्यक्रम राखेको कुरा जानकारीमा आएकाले दुवै पक्षबीच मुठभेड, झडप र भिडन्त हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी जनधन एवम् सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने उद्देश्यले उक्त स्थानलगायत सुरक्षा संवेदशीलता देखिएका क्षेत्रहरूमा भेला जम्मा भई जुलुस प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश जारी भइसकेको छ।’
विरोध कार्यक्रमका लागि प्रशासनले सम्बन्धित पक्षहरूसँगको समन्वयमा राष्ट्रिय युवा संघ, नेपालका लागि काठमाडौँ जिल्लाको तीनकुनेमा र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका लागि काडमाडौँकै बल्खुमा स्थान निर्धारण गरेको छ।
आचार्यले सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमस्थल जाने मार्ग समेत फरक फरक हुने गरी शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गर्न आयोजकहरुलाई अवगत गराइसकिएको स्पष्ट पारेका छन्। नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुन पाउने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको रक्षा गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
आफ्नो अधिकारको उपभोग गर्दा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता र अखण्डता वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गालीबेइज्जती वा अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी एवम् क्षति पुऱ्याउने वा सार्वजनिक मर्यादा, शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न नगराउनसमेत अनुरोध गरेको छ।
कोहीकसैबाट संविधान र प्रचलित कानुनले निषेध गरेका गतिविधि प्रत्यक्ष वा परोक्ष रुपमा वा सामाजिक सञ्जालमार्फत वा अन्य कुनै माध्यमद्वारा गरे गराए वा गर्न उक्साएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराइएको छ।


