सभामुख घिमिरे र यूएन महासचिव गुटेरेसबीच भेटवार्ता

हिमाल प्रेस १२ कार्तिक २०८० १८:३२
4
SHARES
सभामुख घिमिरे र यूएन महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रस‌ंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

बानेश्वरस्थित संसद् भवनमा आज (आइतबार) भएको भेटवार्तामा सभामुख घिमिरले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको जानकारी गराए।

उनले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गरेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैँले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रस‌ंघीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताएका थिए।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका निर्देशनहरू, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरूका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ,’ उनले भने।

उनले नेपाल भगवान् गौतम बुद्धको देश भएको र नेपाली शान्तिप्रिय रहेको जानकारी गराउँदै नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्छ भन्ने आफूलाई लागेको जानकारी गराए। विश्वका कतिपय देशहरूमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टीकृत प्रयासहरू उदाहरण बन्न सक्ने पनि सभामुख घिमिरेको भनाइ थियो।

सभामुख घिमिरेले जलवायु परिवर्तनसम्बन्धी विषय नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै एक भूपरिवेष्टित पर्वतीय तथा न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु परिवर्तनको असमानुपातिक असर व्यहोर्नु परिरहेको बताए। उनले महिला तथा बालबालिका जलवायु परिवर्तनको गम्भीर असरबाट झनै बढी प्रभावित भएका हुँदा संयुक्त राष्ट्रसंघीय प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न महासचिव गुटेरेसले चालेको कदमको स्वागत गरे।

सभामुख घिमिरेले भने, ‘नेपालको संसद्को नियमावलीमा नै राष्ट्रस‌ंघका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको छ, तपाईंको सम्बोधनलाई नेपाली जनताले पनि चासोका साथ हेरेका छन्।’

त्यस भेटका अवसरमा राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार बताए। साथै महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास पनि व्यक्त गरे। रासस

प्रकाशित: १२ कार्तिक २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =