विश्वका लगानीकर्तालाई ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ

हिमाल प्रेस १६ वैशाख २०८१ ११:४०
4
SHARES
विश्वका लगानीकर्तालाई ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ

काठमाडौँ-  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गरेका छन्। आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरूमा लगानीका सम्भावना रहेको र नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए।

लगानी सम्मेलनको सहआयोजक समेत रहेको नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतकाबीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने धारणा राखे।

नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको सम्भावना जानकारी दिए।

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहँच पुर्‍याउने बताउँदै अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको जानकारी पनि दिए।

उनले भने,‘नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिन्छ। अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्तिको हो, यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कुल स्थापना गर्न सकिन्छ।’

हालै नेपाल सरकारले लगानीका लागि बाधक ठानिएका केही कानुन संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै उनले महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए।

उनले भने,‘महासंघको पहलमा द्विपक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ।’

उनले मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको पनि बताए। महासंघको अगुवाइमा केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा ‘विजनेस समिट’को आयोजना गरेको प्रसंग उल्लेख गर्दै महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको पनि बताए।

प्रकाशित: १६ वैशाख २०८१ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =