परदेशी २ को सन्देश : सुखको खोजीमा कहिलेसम्म खुसी गुमाइरहने?

विनोद परियार ४ कार्तिक २०८० १६:३५
62
SHARES
परदेशी २ को सन्देश : सुखको खोजीमा कहिलेसम्म खुसी गुमाइरहने?

म निकै कममात्रै चलचित्र हेर्छु। दसैँको छेको पारेर प्रदर्शनमा आएको ‘परदेशी २’ चलचित्र यसपटक हेर्ने मौका मिल्यो। इजरायलमा हमास आक्रमणका कारण मारिएका नेपाली युवाको पीडा र दैनिक वैदेशिक यात्रामा जानेको लर्कोले चलचित्र हेर्नमा मोह जाग्यो।

चलचित्र हेरिरहँदा खास नयाँ कथा त लाग्दैन, तर चलचित्रले हाम्रै वरपरको कथाव्यथा भने भनिरहेको आभास हुन्छ। पत्रकारिताका रूपमा चलचित्रको समीक्षा फरक रूपमा पनि हुन सक्ला। तर मैले चलचित्र हेरिसकेपछि एक दर्शकका रूपमा जे देखेँ, यहाँ त्यसलाई चर्चा गरेको छु।

अमेरिकी सपनाकै वरिपरि घुम्छ फिल्म

चलचित्रमार्फत लोकगायकबाट निर्देशक निर्माता बनेका नारायण रायमाझीले ‘सिक्वेल’ का रूपमा परदेशी २ चलचित्र निर्माण गरेका हुन्। चलचित्रमा मध्यम वर्गीय ग्रामीण क्षेत्रमा हुर्किएका युवाको सपना, सपना साकार पार्न परदेश जाँदा त्यसले निम्त्याएको पारिवारिक कथालाई प्रस्तुत गरेको छ।

लोकगायक र म्युजिक भिडियो निर्माण गरेर चर्चामा रहेका प्रकाश सपुतलाई परदेशी २ ले नायकको भूमिका दिएको छ। चलचित्रको कथा नायक प्रकाश सपुत अर्थात् संस्कार (चलचित्रको नाम) कै वरिपरि घुमेको छ। स्नातक उत्तीर्ण गरेपछि संस्कारलाई अमेरिकामा भिसा लाग्छ। संस्कारका बुवा नेपाल सरकारको नायब सुब्बाको जागिरे हुन्छन्। एक्लो सन्तान संस्कार आमा र बुवाको प्रिय त हुँदै हुन्, खुसी र सहारा पनि। मध्यमवर्गीय परिवारका संस्कारको अमेरिकी यात्रा समाजका लागि प्रतिष्ठित बने पनि आमाबुवाका लागि अप्रिय लाग्छ।

संस्कारकी प्रेमिका संस्कृति अर्थात् नायिका केकी अधिकारीलाई संस्कारको अमेरिका जाने निर्णयले निकै पिरोल्छ। फौजी बुवाको एक्ली छोरी संस्कृतिका लागि विदेश जान अनुमति रहँदैन। किनभने बुवाले फौज अर्थात् सेनामा रहँदा संस्कृतिकी आमा बिरामी हुँदा पनि घर आउन सकेका हुँदैनन्। पत्नीको मृत्युमा समेत आउन नपाएकाले त्यो पीडा छोरीलाई दिन चाहँदैनन् उनी। बरु उनले पत्नीका नाममा वृद्धाश्रम चलाएर बसेका छन्। छोरी संस्कृतिलाई चिकित्सक बनाउने आमाको सपना पूरा गर्न भन्छन्।

अमेरिका भन्नेबित्तिकै सपनाको संसारका रूपमा जीवनको सारा सुःख र खुसी पाइन्छ भन्ने भ्रम धेरै नेपालीमा छ। यही सामाजिक मनोविज्ञानमा देखिएका संस्कारको संघर्ष अमेरिकामा देखाइएको हुन्छ। त्यहाँ खाना खाने फुर्सद पनि हुँदैन। कलेज, काम अनि फेरि काम। दसैँ नजिक आउँदै गर्दा गाउँ, आमा बुवा, साथीसंगीको यादले निकै सताउँछ। त्यति मात्रै र्होन संस्कारका लागि संस्कृतिको याद र सम्झना पलपलमा आउँछ। यी सबै याद संगाल्नुबाहेक परदेशीको जीवनमा सम्भव हुँदैन।

आमा परदेशमा रहेको छोराकै पिरलोमा हुन्छिन्। अमेरिकामै भासिएका दिलीप रायमाझीको कथा पनि उस्तै कारुणिक देखिन्छ। सुख र खुसीकै लागि परदेसिएका उनको परिवार नै उजाडिएपछि नेपालमा बस्न नसकी अमेरिकामै फर्किएका छन्। संस्कारसँग रायमाझीले आफ्नो जीवनकथा बताउँछन्। अमेरिकामा सपना मात्रै छैनन्, परदेशीको वियोगको मन पनि सपनासँगै बरालिएको दृश्य देखाइएका छन्।

दसैँको दिन आमाबुवाकै लागि आफैँले टीका लगाएर फेसबुक म्यासेन्जरमा पठाएर हतारहतारमा टीका पुछेर काममा जानुपरेको दृश्य कारुणिक देखिन्छ।

त्यही क्रममा संस्कार दुर्घटनामा पर्छन्। संयोगले बाँच्नुमा लुजा अर्थात् वर्षा शिवाकोटीको भूमिका रहन्छ। अर्धचेत् अवस्थाबाट बिस्तारै निको हुने बेलासम्म परिवारसँग सम्पर्कविहीन हुन्छन् संस्कार। बुवाआमा र प्रेमिका संस्कृति छटपिटिन्छन्। लुजाले बुवाआमा परीक्षा भएकाले केही दिनपछि सम्पर्क गर्ने म्यासेज पठाएकी हुन्छिन्। दुर्घटनाका कारण हिँडडुल गर्नसमेत नसक्ने भएपछि लुजाले संस्कारलाई आफ्नै कोठामा राख्छिन्।

लुजाकै स्याहारले बिस्तारै संस्कार निको हुन्छन्। त्यसपछि काम पनि पाउँछन्। संस्कार दुर्घटना भएपछि प्रमिका संस्कृतिको आशंका बढ्दै जान्छ। यता नेपालमा संस्कारकी आमा बिरामी पर्छिन्। अस्पतालमा भर्ना गरेर उपचार भइरहेको हुन्छ। संस्कारलाई राति संस्कृतिले फोन गर्छिन्। लुजाले संस्कार निदाएकाले भोलि फोन गर्न भन्छिन्। भोलिपल्ट बिहान कुरा हुँदा संस्कृति रिसाउँछिन्। संस्कृतिले आमाले छोराको खोजी गरेको भिडियो पठाएकी हुन्छिन्। त्यो हेरेपछि कथाले परदेशीको पीडा र परिवारको विवशता प्रस्तुत गर्छ। लुजाले पनि संस्कारलाई प्रेम गरेकी हुन्छिन्। तर संस्कार संस्कृतिलाई धोका दिने पक्षमा रहँदैनन्।

आमा अस्पताल भर्नासँगै संस्कारलाई आमाको दायित्व, प्रेमिकासँगको मनमुटावले सताउँछ। दुर्घटनापछि भर्खर काम सुरु गरेकाले संस्कार तत्काल नेपाल फर्कन सक्ने अवस्थामा रहँदैनन्। तर आमा छोराकै पखाईमा हुन्छिन्। आमालाई पठाएको फोटोमा लुजासँगै संस्कार देखेपछि उपचारमा खटिएकी संस्कृति छाँगाबाट खसेजस्तो हुन्छिन्। आफूले विश्वास गरेको व्यक्ति सम्पर्कविहीन हुने, फोन गर्दा अर्के युवतीले फोन उठाउने?

यिनै प्रश्नको घेराबाट संस्कृति संस्कारसँग सम्बन्धविच्छेद गर्ने निधोमा पुग्छिन्। फौजी अर्थात् भारतीय सेनाको भूमिकामा देखिएका नायक प्रशान्त तामाङ (निर्माण थापा) सँग बुवाले विवाहका लागि गरेको प्रस्ताव स्वीकार गर्छिन्। यो अवस्थासम्म आइपुग्दा संस्कारकी आमाको अवस्था गम्भीर भइसकेको हुन्छ। अस्पतालबाटै संस्कारका बुवाले फोनमा छोरालाई भन्छन्, ‘यस्तो बेला पैसाभन्दा पनि सन्तानको आवश्यकता हुँदो रहेछ।’

यही शब्दले गर्दा पिरोलिएका संस्कारलाई लुजाले टिकट काटेर नेपाल पठाउँछिन्। जब संस्कार नेपालका लागि एयरपोर्टबाट लुजासँग बिदाइ हुन्छन् त्यसपछि सुरु हुन्छ, परदेशीको पीडा। संस्कृति आशंकाकै भरमा प्रशान्त तामाङसँग विवाह गर्ने तयारीमा हुन्छिन्। संस्कार भने आफूलाई अमेरिकामा दुर्घटनामा परी बचाएकी लुजाको प्रेम अस्वीकार गरेको अडियो पठाएर संस्कृतिलाई नै माया गरेको बताउँछन्। त्यही अडियो सुन्दै गाडी चलाउँदाचलाउँदै लुजाको दुर्घटनामा मृत्यु हुन्छ।

यता नेपालमा आमा ‘छोरा संस्कार–संस्कार’ भन्दै मृत्युको मुखमा हुन्छिन्। संस्कार आउन त आउँछन् तर आमालाई जिउँदो भेट्न सक्दैनन्। संस्कारले जन्म दिने आमा गुमाउँछन्, पुनर्जीवन दिने लुजा पनि गुमाउँछन्, जीवन समर्पण गर्ने प्रेमिका संस्कृति पनि अलग हुन्छिन्। सुखको सपना बोकेर अमेरिका छिरेका संस्कारले आमा मात्रै गुमाउँदैनन्, खुसी पनि सिध्याउँछन्।

कथा कारुणिक, प्रस्तुति सतही

परदेशी २ चलचित्रमा हाम्रै गाउँघरको वर्तमान अवस्थाको चित्रण गरिएको छ। युवा पुस्ताको उच्च शिक्षाको नाममा युरोप अमेरिका जाने सपना, सपनासँगै जोडिएको बुवाआमाको खुसी अनि परदेशीको पीडालाई चलचित्रमा उतारिएको छ। यति हुँदाहुँदै पनि चलचित्रमा केही पक्ष कमजोर देखिन्छन्। एक त यो चलचित्र चार वर्षअघि सुटिङ गरेर अहिले प्रदर्शन गरिएको छ। यसले पनि समय र परिवेश फेरिँदा त्यसको स्वाद पनि कम भएको हुन सक्छ।

चलचित्रमार्फत डेब्यु गरेका नायक प्रकाश सपुत अर्थात् संस्कारको अमेरिका पुगेपछिको कथा अधुरो देखिन्छ। अमेरिकामा नेपालीले के के सम्म दुःख गर्छन् भन्ने कुरा जति गहिरो गरी देखाउनुपर्ने हो, त्यस्तो छैन। सतही रूपमा एक युवा अमेरिका पुग्छन्, त्यहाँ उनले एउटा डिपार्टमेन्ट स्टोरमा काम गर्छन, त्यही क्रमा एक दिन अफ्रिकी मूलको देखिने एक समूहले पसल लुटेको दृश्य देखाइन्छ। त्यसपछि त्यसको सन्दर्भ छैन।

अमेरिकामा रहेका दिलीप रायमाझीसँग एउटा नेपाली रेस्टुरेन्टमा भेट भएको प्रसंग र उनी अमेरिका गएपछि परिवार गुमाएको प्रसंग निकै छोटोमा देखाइएको छ। दिलीप रायमाझीको जस्तै अन्य नेपाली युवाको संघर्ष पनि देखाउँदा दर्शक अझ त्यहाँको वास्तविकतासँग नजिक हुनसक्थे। चलचित्रलाई परदेशीको भावनासँग आवश्यकताभन्दा बढी भावुक बनाउन खोजिएको छ। त्यही भावुकतामा गीतहरूको प्रयोग निकै धेरै गरिएको छ। चलचित्र आमनेपाली ग्रामीण परिवेशमा हुर्केकाहरूका लागि उपयुक्त भए पनि अमेरिकी सपना देख्नेहरूले सोच्ने तरिकामा अझ कथा अपुग देखिन्छ।

 

चलचित्र हेरिरहँदा यसपछि यो हुन्छ, भनेर दर्शकले अनुमान गर्न सक्छन्। दर्शकलाई कौतूहल हुने गरी कथा जोड्न सकिने भए पनि त्यसो गरेको देखिँदैन।
नायिका केकी अधिकारीको अभिनय अब्बल छ। उनका बुवा बनेका रिटायर्ड आर्मी नीर शाहले चलाएको वृद्धाश्रमको कथा पनि छोटो रूपमा कृष्ण कँडेलले अन्तर्वार्तामा देखाएका छन्। त्यही आश्रममा रहेका आमाबुवामध्ये कुनै एक सन्तानको विदेशमा रहेको कथा जोड्न सक्दा त्यसले परदेशीको पीडा अझ बढी झल्काउन सक्थ्यो। यी विषयमा निर्माण पक्ष कमजोर बनेको देखिन्छ।

चलचित्रको कथा नयाँ लाग्दैन। तर अहिलेको अवस्थामा हरेक अभिभावकले सन्तानको स्नेह, स्पर्श पाएका छैनन्। बेरोजगारी समस्याकै कारण युवाहरू बिदेसिन अर्थात् परदेशी बन्न बाध्य छन्। उच्चशिक्षाका लागि बिदेसिनेहरूको संख्या बढिरहेको छ। चलचित्रमा देखाएजस्तै अब गाउँमा बूढापाका मात्रै रहन्छन् कि भन्ने चिन्ता बढाएको छ। रहरले बिदेसिएका र बाध्यताले बिदेसिएकाको कथा फरक हुन्छ। त्यसलाई चलचित्रले प्रस्टसँग देखाउन सकेको छैन।

समग्रमा चलचित्रले दिन खोजेको सन्देश मर्मस्पर्शी र यथार्थपरक छ। नेपालीहरू कहिलेसम्म सुखको खोजीमा खुसी गुमाइरहने भन्ने प्रश्न चलचित्रले उठाएको छ।

नेपालमा हुँदा सोचेजस्तो विदेश हुँदैन भन्ने चलचित्रको अर्को सन्देश हो। सुखका लागि हामीले कतै खुसी गुमाइरहेका त छैनौँ? यसतर्फ सोच्न बाध्य बनाएको छ। चलचित्रका कथा र पात्र त काल्पनिक हुन्। तर परदेशीको कथाव्यथा वास्तविक छन्। परदेशी चाहे खाडी होस् या युरोप अमेरिकामा नै किन नहोस्, आफ्नो भूगोल, वृद्ध बुवाआमा, वनपाखा, गाउँले परिवेश सबै–सबै त्यागेको हुन्छ। अब के साँच्चिकै हरेक आमाबुवाले सन्तानको काखमा मर्न नपाउने हो? के यही तरिकाले देश चल्छ? सारमा परदेशी २ ले उठाएको सवाल यही हो।

परदेशी दसैँको छेको पारेर असोज २६ गतेबाट देशभर प्रदर्शनमा आएको हो। चलचित्रको अहिलेसम्म दर्शकहरूले रुचाएका छन्। इजरायलमा भएको घटनामा नेपाली विद्यार्थी विनाकारण ज्यान गुमाएर फर्कनुपर्दाको पीडा नेपालीमा छ। यो चलचित्रले त्यो सेन्टिमेन्ट बटुलेको छ।

ग्रामीण भेग र लोकलयका संगीत यसका राम्रा पक्ष हुन्। तर चलचित्रले अमेरिकी सपना त देखाएको छ अझ बढी अमेरिकामा नेपालीले कसरी केके काम गर्छन्? कतिसम्म संघर्ष गर्नुपर्छ भन्ने कुरा जति मात्रामा देखाउनुपर्ने थियो, त्यसको कमी छ। चलचित्रमा परदेशीका व्यथा देखाउनका लागि त्यति धेरै मेहनत गरिएको छैन।

प्रकाश गायकबाट नायकमा बदलिए

परदेशी २ बाट चलचित्रमा डेब्यु गरेका प्रकाश सपूत नायकका रूपमा देखापरेका छन्। लोकगायक पनि नायक बन्न सक्छन् भन्ने भाष्य यस चलचित्रले स्थापित गरिदिएको छ। प्रकाश सपूत अब गायकबाट नायकमा बदलिएका छन्।

सपूतसँगै चर्चित नायिका केकी अधिकारी, वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ चलचित्रको कथा रमेश बीजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन्भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीले गरेका हुन्।

प्रकाशित: ४ कार्तिक २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =