सद्भाव खलबल्याउने गतिविधिविरुद्ध प्रहरीलाई गम्भीर बन्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस २९ असोज २०८० १३:२०
4
SHARES
सद्भाव खलबल्याउने गतिविधिविरुद्ध प्रहरीलाई गम्भीर बन्न गृहमन्त्रीको निर्देशन फाइल तस्बिर

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक सामाजिक सद्भाव खलबल्याउने क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

६८ औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले केही जिल्लामा देखिएको धार्मिक र सामाजिक सद्भाव खलबल्याउने घटनालाई संवदेनशील रूपमा लिनुपर्ने बताए। उनले यस्ता क्रियाकलापविरुद्ध गम्भीर रूपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिए। यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनैपर्ने उनको भनाइ छ।

मन्त्री श्रेष्ठले अपराधका नयाँ प्रकृतिलाई निस्तेज पार्न र गहन रूपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउँदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।

गृहमन्त्रीले भने, ‘नेपाल प्रहरीको आवश्यक भूमिका र कर्तव्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानुनी राज्यको प्रत्याभूत हुने भएकाले यसतर्फ गम्भीर हुनुपर्छ।’

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले पारदर्शी, जवाफदेही, मानवअधिकारको संरक्षणलगायतमा संगठनको कामकारबाही उत्कृष्ट हुने प्रतिबद्धता जनाए।

प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धिमार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्यसहित नेपाल प्रहरी कार्ययोजना,२०८० तर्जुमा गरिएको जानकारी कुँवरले दिए।

कार्यक्रममा प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षय कोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =