विश्वकप क्रिकेट : इंग्ल्यान्डले देखाएको दीनता

हिमाल प्रेस २९ असोज २०८० ६:५०
14
SHARES
विश्वकप क्रिकेट : इंग्ल्यान्डले देखाएको दीनता अफगानिस्तानसँग पराजय भएपछि इंग्ल्यान्ड क्रिकेट टोली।

काठमाडौँ- भारतमा जारी क्रिकेट विश्वकपमा एउटा यस्तो खेलको प्रतीक्षा थियो, जसले विश्व क्रिकेटमा तरंग पैदा गरोस्। गत शनिबार अहमदाबादमा भएको त्यो खेलले उत्साह पैदा गरेन। भलै भारतले एक लाख ३० हजार दर्शक अट्ने रंगशालामा प्रतिद्वन्द्वी पाकिस्तानलाई हराएको थियो।

आखिरमा प्रतीक्षा गरिएको खेल साबित भयो, इंग्ल्यान्डविरुद्ध अफगानिस्तान। दिल्लीको अरुण जेट्ली रंगशालामा अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले स्तब्ध बनायो। इंग्ल्यान्ड जसलाई उपाधि दाबेदार मानिएको थियो। उपाधि दौडमा भारतलाई रोक्ने टिमका रूपमा हेरिएको थियो।

यो नतिजासँगै विश्वकपमा अफगानिस्तानको १४ खेलको पराजय शृंखला अन्त्य भएको छ। उता इंग्ल्यान्डको सर्वाधिक बलियो ह्वाइट बल टिमले भने कमजोर टिमसँग हारेको धब्बा बोक्नुपर्ने भएको छ।

पहिलो बलबाटै इंग्ल्यान्ड कमजोर देखिन थालेको थियो। जोस बट्लरले त्यो मौका नगुमाएको भए इंग्ल्यान्ड फरक स्थितिमा हुन सक्थ्यो। तर कैयौँ पटक आफ्नै गल्तीको सिकार हुनबाट जोगिएका अफगानी ब्याट्सम्यानहरूले आखिरमा सम्मानजनक योगफल तयार पारे। रामानुल्लाह गुर्बाज एक्लैले ८० रन बनाए, त्यो पनि ५७ बलमा।

भारतसँगको खेलमा आफूले पाएको लक्ष्यभन्दा १२ रन बढी बनाएको अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पछि पार्न सक्यो। अफगानिस्तानको जितमा नायक उनै गुर्बाज बने। मज्जाले रन बन्ने यो मैदानमा इंग्ल्यान्ड २८५ रनमा समेटिन पुग्यो।

उसो त अफगानी बलरहरूले पनि माथिल्लो स्तरको खेल देखाएका हुन्। गुर्बाजको ब्याटिङमाथि सबैको नजर गए पनि नवीन उल हक र फाजल फारुकीको बलिङ कम महत्त्वपूर्ण आँक्न मिल्ने खालका थिएनन्। उनै नवीनको बलमा जोस बट्लर पभेलियन फर्किएका हुन्।

इंग्ल्यान्डले बलियो टिमको इज्जत छोटो समय वा कम मेहनतमा बनाएको थिएन। तर क्रिकेटमा सत्य यही हो, यस्तो इज्जत धरापमा पर्न धेरै समय लाग्दैन, एउटा हार नै पर्याप्त हुन्छ। क्रिकेटको दुवै ढाँचाको दुई विश्वकप लगातार जितेकाले इंग्ल्यान्डसँग सबै टिम डराएकै हुन्। तर पहिलो खेलमा न्युजिल्यान्डसँग हारेपछि इंग्ल्यान्डको त्रास कम भएको थियो। आइतबारको हारले त इंग्ल्यान्डलाई सामान्य टिममा रूपान्तरण गरिदिएको छ।

इंगल्यान्डलाई हराएपछि खुसीयाली मनाउँदै अफगानिस्तानका खेलाडी।

हुन त विश्वकपका धेरै खेल अझ बाँकी छन्। इंग्ल्यान्डको सम्भावना सकिएको छैन। तर अबको बाटो स्पष्ट र कठिन छ। आउँदा दुई खेलमा इंग्ल्यान्ड विजयी हुनैपर्छ। ती खेल श्रीलंका र नेदरल्यान्ड्सविरुद्ध छन्। त्यसपछिका चार खेलमा तीन जित अनिवार्य हो। दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया र पाकिस्तान इंग्ल्यान्डका बाँकी पाँच विपक्षी हुनेछन्।

अफगानिस्तानका लागि इंग्ल्यान्डमाथिको जित अभूतपूर्व सफलता हो। यसो किन पनि भनिएको हो भने अफगानिस्तानले सन् २०१५ मा स्कटल्यान्डलाई हराएपछि कुनै खेल जित्न सकेको थिएन। विश्वकप इतिहासमा यस्ता परिणाम विरलै निस्किन्छन्। सन् १९९६ को विश्वकपमा केन्याले वेस्ट इन्डिजलाई हराउँदा विश्व क्रिकेट छक्क परेको थियो। त्यसपछि सबैलाई आश्चर्यमा पार्ने हार यही हो।

विश्वकप १९९६ मा के भयो, अफगानिस्तानले जानेकै छ। झन्डै त्यही स्तरको सफलता हात पारेपछि अफगानिस्तानका कप्तान हस्मतुल्लाह साहिदी कति खुसी होलान्, अनुमान सजिलो छ। उसो त विश्वकपमा जित दर्ता गर्नु नै उनका लागि ठूलो राहत हो। विपक्षीको प्रोफाइल त त्यसपछि आउने कुरा भयो।

कप्तान साहिदीको रणनीतिको तारिफ जति गरे पनि कम हुन्छ। उनको रणनीति सफल हुनुमा २१ वर्षीय गुर्बाजको ब्याटिङ कम महत्त्वपूर्ण थिएन। उनको निडर ब्याटिङले इंग्ल्यान्डलाई पटकपटक झसंग बनाएकै हो।

रहमत साह तीन रनमा आउट हुँदा अफगानिस्तान १२२-२ को स्थितिमा थियो। त्यसपछि आएका कप्तान हस्मतुल्लाहले पहिलो बलमै चौका हाने। १४ रन बनाएर बाहिरिएका हस्मतुल्लाह अवश्य खुसी थिएनन्। बाहिरिँदै गर्दा उनी आक्रोशित देखिए। हेलमेट र ब्याट पछारेकाले पनि यस्तो अनुमान गर्न अप्ठ्यारो छैन।

कुरा फेरि गुर्बाजकै। उनले त्यत्तिको रन बनाउलान् भनेर कसले सोचेको थियो र? उनले अन्तिमसम्मै इंग्ल्यान्डका बलरलाई दुःख दिए। उनीसामु इंग्ल्यान्डका सिमर त फिक्का देखिए। वोक्सले पनि कमाल गर्न सकेनन्। न त साम कुरानकै कौशलले काम गर्न सक्यो।

अफगानिस्तानका इक्राम अलिखिलले पनि अर्धशतक त बनाएकै हुन्। तर गुर्बाजको ब्याटले सबै श्रेय खोस्यो। उत्तरार्धमा रसिद खान र मुजिब उर रहमानले क्रमशः २३ र २८ रन जोडे।

उता इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र डाविड मालानबाहेक कोही ब्याट्सम्यान लयमा देखिएनन्। ब्रुकले ६६ र मालानले ३२ रन जोडे। कप्तान बट्लर नौ रनमा आउट भए भने जो रुटले जरा गाड्नै सकेनन्। उनी मुजिबको बलमा ११ रन बनाएर फर्किएका थिए। तल्लो क्रमका आदिल रसिद (२०), मार्क उड (१८) र रिस टोप्ले (१५) को प्रयास हार टार्न पर्याप्त रहेन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =