निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका

हिमाल प्रेस २२ असोज २०८० २१:४३
4
SHARES
निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलको रोहवरमा सोमबार महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए।

उपप्रमुख डंगोलले अब रगतका लागि सहज हुने बताइन्। कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार, उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ। यसका लागि प्रति युनिट १ हजार ६० रुपैयाँ र क्रस म्याच गराउनुपरे थप २ सय रुपैयाँ उपलब्ध गराइनेछ।

सम्झौताअनुसार महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजाबापत प्रत्येक रक्तदातालाई २ सय रुपैयाँ उपलब्ध गराइनेछ। रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार सम्झौता बमोजिम कामपाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ।

सेवा लिनका लागि कामपाको स्थायी बासिन्दा भएको प्रमाण पेस गर्नुपर्नेछ। नागरिकता, मतदाता परिचयपत्र, बसाइसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रमध्ये कुनै एउटा पेस गर्नुपर्ने छ। रासस

प्रकाशित: २२ असोज २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =