राष्ट्रपतिको उपचार खर्च बेहोर्ने निर्णयविरुद्धको रिटमा सर्वोच्चले सरकारसँग माग्यो कारण

हिमाल प्रेस २२ असोज २०८० २०:१८
22
SHARES
राष्ट्रपतिको उपचार खर्च बेहोर्ने निर्णयविरुद्धको रिटमा सर्वोच्चले सरकारसँग माग्यो कारण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च बेहोर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वाेच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेस गरेको उत्प्रेषण/परमादेश रिट निवेदनमा राष्ट्रपति पौडेल र मन्त्रिपरिषदको कार्यालयसमेतका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

सर्वोच्चले उक्त निवेदनलाई अग्राधिकार दिने आदेशसमेत गरेको छ। आदेशमा भनिएको छ ‘प्रस्तुत निवेदन सरकारी कोषबाट औषधि उपचारका लागि भनी रकम निकासासँग सम्बन्धित भई छिटो निरूपण हुन पर्ने प्रकृतिको देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिइ पेस गर्नू।’

निवेदकको तर्फबाट अधिवक्ताहरू लीलानाथ घिमिरे, प्रगति ढकाल र निवेदक स्वयं अधिवक्ता गिरीले बहस गरेका थिए। अधिवक्ता गिरीले गत असार २४ गते सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन सर्वाेच्च प्रशासनले १३ दिनसम्म दर्ता गर्न आनाकानी गरेको थियो।

अन्ततः सर्वाेच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निक्र्यौल हुने विषय नभएको दाबी गर्दै निवेदन दरपिठ गरेकी थिइन्।

रजिष्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष निवेदन दिएका थिए। सो निवेदनमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले राष्ट्रपति वा अन्य उच्च पदस्थ व्यक्तिहरूको विदेशमा उपचार गर्दा लाग्ने खर्च वा अन्य सुविधा बापतको रकम के कसरी कुन मापदण्डका आधारमा उपलब्ध गराउने भन्ने विषयमा प्रस्तुत निवेदन अन्तरनिहित रहेकाले मन्त्रिपरिषद्को गत असार १२ को निर्णय अदालतले परीक्षण गर्न सक्ने देखिने भन्दै रजिष्ट्रारको दरपिठ आदेश बदर गरेको थियो।

त्यसपछि दर्ता भएको रिटमा सर्वोच्चले राष्ट्रपति पौडेलले आफैं खर्च बेहोर्न चाहेको भनी जारी गरेको विज्ञप्ति र सरकारले खर्च बेहोर्ने भनी गरेको निर्णयको प्रमाणित प्रति मगाउने आदेश गरेको थियो।

राष्ट्रपति पौडेल छातीको समस्याको उपचारका लागि गत वैशाख ६ गते उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराउन गएका थिए। उनी वैशाख १७ गते उपचार गराएर फर्केका थिए।

सामान्य छाती दुखेको निहुँमा लाखौं खर्च गरेर विदेशमा उपचार गर्न गएको भन्दै चर्को विरोध भएको थियो। विरोध मत्थर पार्न त्यतिबेला राष्ट्रपति कार्यालयको सचिवालयले वैशाख १७ गते वक्तव्य जारी गर्दै उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको जनाएको थियो।

अहिले मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख २ हजार २७९ रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको भन्दै परराष्ट्र मन्त्रालयले असार १५ गते अर्थ मन्त्रालयसँग उपचार खर्च निकासा मागेको थियो।

कानुनअनुसार नेपाल सरकारले विशिष्टहरूको उपचार खर्च बेहोर्न नेपालमा उपचार सम्भव नहुने भन्ने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ। त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च बेहोर्ने गर्छ।

राष्ट्रपति रामचन्द्र पौडेलले उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन्। मन्त्रिपरिषद्को निर्णयका आधारमा राजनीतिक व्यक्तिले मनलाग्दी उपचार खर्च लिने प्रचलन बढेपछि जनस्वास्थ्य सेवा ऐन २०७५ ल्याइएको थियो। यस ऐनमा नेपालमा सम्भव भएका उपचारका लागि विदेश जाँदा उपचार खर्च नबेहोर्ने व्यवस्था गरिएको छ।

ऐनको दफा ३० मा कुनै पनि व्यक्तिले विदेशमा उपचार गरेमा सरकारले खर्च उपलब्ध नगराउने भनिएको छ। ‘कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा उपचारका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन,’ ऐनको दफा ३० मा भनिएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ९ मा पनि नेपालमा उपचार हुन नसकेमा मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको उपचार खर्च सरकारले बेहोर्ने उल्लेख छ। राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लैजाँदा मेडिकल बोर्डको स्वीकृति लिइएको थिएन।

अधिवक्ता घिमिरेले बहसका क्रममा भने, ‘राज्यले गर्ने खर्चमा मैले तिरेको करको रकम समेत समावेश छ। नागरिकले तिरेको राजस्व खर्च गर्न सरकार जवाफदेही हुनैपर्छ।’ राज्यलाई स्वेच्छाचारी हुन नदिन लोकतन्त्रमा शक्ति सन्तुलन, शक्ति विभाजन, राज्यका अंगहरूबीच एकले अर्काको कामको जाँच गर्न पाउने व्यवस्था गरिने उनको भनाइ थियो। ‘कार्यपालिकाले नीतिगत निर्णयको आवरणमा गर्ने गैरकानुनी कामको परीक्षण न्यायपालिकामा हुन्छ, हुनु पर्छ,’ उनले भनेका थिए।

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लैजाँदा मेडिकल बोर्डबाट सिफारिस नलिएका कारण उपचार खर्च राज्यले बेहोर्नु राज्यस्रोतको दुरुपयोग भएको रिट निवेदक अधिवक्ता गिरीको दाबी छ। ‘हरेक नागरिकबाट कर संकलन गरेर बजेट बनाउने सरकारले यसरी विशिष्ट व्यक्तिका नाममा गैरकानुनी रूपमा खर्च गर्न मिल्दैन। विपक्षी राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो उपचार खर्च आफैं बेहोर्न सक्षम हुनुहुन्छ,’ उनले भने, ‘त्यसमा पनि निज आफैंले आफ्नो उपचार खर्च आफैंले बेहोर्न चाहेको सार्वजनिक रूपमा बताइसकेको अवस्थामा नेपाल सरकारले तेरो उपचार खर्च आफैं बेहोर्न पाउँदैनस्, राष्ट्रको ढुकुटीबाटै बेहोर्नु पर्छ, राष्ट्रको ढुकुटी रित्याउनु पर्छ भन्न मिल्दैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =