एमाले गण्डकीमा ४७ जना निर्विरोध, ४१ पदका लागि २७७ उम्मेदवारबीच प्रतिस्पर्धा

हिमाल प्रेस १८ असोज २०८० १३:०५
14
SHARES
एमाले गण्डकीमा ४७ जना निर्विरोध, ४१ पदका लागि २७७ उम्मेदवारबीच प्रतिस्पर्धा

पोखरा- पोखरामा जारी नेकपा (एमाले) गण्डकी प्रदशको प्रथम अधिवेशनअन्तर्गत विभिन्न पदमा ४७ जना निर्विरोध भएका छन्। बिहीबार दिउँसो १२ बजेदेखि सुरु हुने मतदान प्रक्रियामा अब ४१ पदका लागि २ सय ७७ जना उम्मेदवारबीच इलेक्ट्रिक मतदान प्रक्रियाबाट छिनोफानो लगाइने भएको छ।

पदाधिकारी ५ सहित कुल १ सय ६२ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ। पोखरा सभागृहमा हलमा जारी अधिवेशनमा मतदानका लागि ३३ वटा इलेक्ट्रिक मेसिन तयार पारिएको निर्वाचन प्राविधिक लक्ष्मण रिमालले बताए। मतदान समय साँझ साढे ५ बजेसम्मलाई तोकिएको छ। मतदान भएको २ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गरिने रिमालले बताए।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरका अनुसार उम्मेदवारी दर्ता हुन आएबमोजिम तोकिएको समयसीमाभित्र दर्ता भएको संशोधन र दाबी विरोध एवं उम्मेदवारी फिर्ता समेतको आधारमा अन्तिम नामावली प्रकाशन गरिएको हो।

एमाले गण्डकीको नेतृत्वका लागि नवराज शर्मा र मायानाथ अधिकारी प्यानल चुनावी मैदानमा होमिएका छन्।
उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विश्वकर्मा, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मि आचार्य, कास्कीका दामबहादुर बिक र म्याग्दीका सन्तोष रावलको अन्तिम नामावली प्रकाशन गरिएको छ। उपसचिवमा उम्मेदवारी दिएका स्याङ्जाका अर्जुनकुमार सुनामले उम्मेदवरी फिर्ता लिए।

साथै, उपसचिव (महिला) तर्फ पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ र कास्कीकी मीना गुरुङ प्रतिस्पर्धामा छन्।
तीमध्ये नवराजको प्यानलमा उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा दामबहादुर विक र उपसचिवमा महिलामा मञ्जु अधिकारी प्रतिस्पर्धी छन्। मायानाथको प्यानलतर्फ उपाध्यक्षमा बाबुराम विश्वकर्मा, सचिवमा रश्मी आचार्य, उपसचिवमा सन्तोष रावल र महिला उपसचिवमा मीना गुरुङ छन्। चुनावमा कुल ३ सय २७ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु अधिकारीले जानकारी दिए।

अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव (महिला) गरी ५ पदाधिकारी, प्रदेश खुला ५८, प्रदेश समावेशी १३, संघीय निर्वाचन क्षेत्र १८, जिल्ला भूगोल ६१, लेखा समिति ७ जनाको पदमा निर्वाचित हुने छन्।
अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधिले भाग लिएका छन्। तीमध्ये कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि हुन्।

अधिवेशनको गत १५ असोजमा एमाले महासचिव शंकर पोखरेलले अमरसिंहमा आयोजित समारोहमा उद्घाटन गरेका थिए। २ दिनभित्र सम्पन्न हुने भनिएको अधिवेशन सर्वसम्मत पहलमा अल्झिँदा लम्बिएको हो।

प्रकाशित: १८ असोज २०८० १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =