सेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री डा महत

हिमाल प्रेस १५ असोज २०८० १३:०२
4
SHARES
सेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी : अर्थमन्त्री डा महत फाइल तस्बिर।

काठमाडौँ- ‍अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन्।

‘विश्व लगानीकर्ता सप्ताह’ को आज यहाँ उद्घाटन गर्दै उनले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए।

‘अहिले नियामकको केही माइक्रोम्यानेजमेन्टका कारण पनि बजार प्रभावित भएको देखिन्छ । यसबारे चाँडै कुनै निर्णय आउला भन्ने अपेक्षा गरेको छु’, अर्थमन्त्री महतले भने, ‘सेयर बजारलाई स्वस्थ बनाउन जरुरी छ। बेलाबेला भित्री कारोबार (इन्साइडर ट्रेडिङ) का कुरा पनि सुनिने गरेका छन्। यसलाई धितोपत्र बोर्डले निर्णायक हिसाबले नियमनको दायराभित्र ल्याउनुपर्छ।’

उनले आम लगानीकर्ताको हित हुनेगरी नियामकीय भूमिका निर्वाह गर्न र पुँजी बजारबारे जानकारी तथा साक्षरता बढाउन पनि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायलाई निर्देशन दिए।

नयाँ धितोपत्र दलाल लाइसेन्स दिएपछि पुँजीबजार प्रतिस्पर्धी बन्दै गएको र एकाधिकारको अवस्था अन्त्य भएको उनको भनाइ छ। यसलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि अर्थमन्त्री महतले बताए।

सेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको उनको भनाइ छ।

सेयर बजारको उतारचढावका बेला निश्चित व्यक्तिले नाफा लिने र सर्वसाधारणले गुमाउने भएकाले पुँजीबजारको कारोबारबारे सर्वसाधारणलाई बढी जानकारी दिनुपर्ने आवश्यकता उनले औँल्याए।

प्रकाशित: १५ असोज २०८० १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =