बिरामीको मृत्युपछि मणिपाल अस्पताल तनावग्रस्त

हिमाल प्रेस ८ असोज २०८० २०:४५
26
SHARES
बिरामीको मृत्युपछि मणिपाल अस्पताल तनावग्रस्त मणिपाल अस्पताल।

पोखरा- मणिपाल अस्पतालमा उपचार क्रममा चिकित्सक लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्। जसका कारण सोमबार राति अबेरसम्म पनि अस्पताल तनावग्रस्त रह्यो।

लमजुङ सुन्दरबजार नगरपालिका-७ की ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो उपचारका क्रममा मृृत्यु भएको हो। उनको मृत्युपछि मृतकका आफन्तले लापरबाही भएको भन्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्। उनीहरूले डा. अनिल शाहमाथि कुटपिट गरे।

कुटपिट आरोपमा कास्की प्रहरीले पोखरा-५, मालेपाटनका विनय गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए। चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने अस्पतालका चिकित्सकले घोषणा गरेका छन्।

मिर्गौला रोगी दुरालाई आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकोमा सोमबार आकस्मिक कक्षबाट आइसीयूमा सारिएको थियो। बिरामीका आफन्त नाराबाजीमा उत्रिँदा अस्पताल दिनभरजसो तनावग्रस्त बन्यो। सोमबार रातिसम्म पनि स्थिति अशान्त छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको डीएसपी विकले बताए।

मणिपालका चिकित्सकले कुटपिट गर्नेलाई फौजदारी अभियोगसहित कडा कारबाही नगरेसम्म सम्पूर्ण सेवा ठप्प पार्ने बताएका छन्। हाल समस्या समाधानका लागि अस्पताल प्रशासन, चिकित्सक, बिरामीका आफन्तबीच वार्ताको प्रयास भइरहेको छ।

प्रकाशित: ८ असोज २०८० २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =