अलैँचीको मूल्य बढ्दा किसानमा उत्साह

हिमाल प्रेस २४ भदौ २०८० ८:१३
14
SHARES
अलैँचीको मूल्य बढ्दा किसानमा उत्साह फाइल तस्बिर

फुङ्लिङ- गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ। अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो।

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन्। सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ। भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन्।

अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्षसमेत रहेका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन ५५ देखि ५६ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको बताए। रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २४ देखि २७ हजार रुपैयाँमात्रै मूल्य थियो।

उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताए। अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसपछि तीन दिनअघि प्रतिमन ५७ हजार रुपैयाँमा कारोबार भएको अलैँची शुक्रबार भने ५६ हजार रुपैयाँमा कारोबार भएको उनले जानकारी दिए। ‘अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी हो,’ अधिकारीले भने।

भारतसहित मुलुकबाट माग आएकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन्। अलैँची व्यवसायी संघका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ।

नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्यमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने संघका अध्यक्ष रेग्मीको भनाइ छ। यस वर्ष अलैँची उत्पादनमा गिरावट आउने उनको भनाइ छ।

विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन्। फूल फुल्ने समयमा खडेरी लागेको, असिनाले चुटेको र कतिपय ठाउँमा रोगले अलैँची नष्ट हुँदा उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ।

त्यस्तै गत असार–साउनमा गएको बाढीपहिराले समेत केही क्षेत्रमा अलैँचीखेती बगाएका कारण उत्पादनमा कमी आउने सिदिङ्वा गाउँपालिका–६ मेहेलेका प्रेम बुडाक्षेत्रीले बताए।

यस वर्ष २५ देखि ३० प्रतिशतसम्म उत्पादन घट्नसक्ने उनको अनुमान छ। सुक्खा मौसम (खडेरी), रोग तथा असिनाको असर सबैतिर नपरेकाले अलैँची उत्पादन घट्ने देखिन्छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अलैँचीखेती करिब चार हजार पाँच सय हेक्टरमा लगाइएको छ। जिल्लामा वार्षिक २ हजार ५ सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको तथ्यांक छ। रासस

प्रकाशित: २४ भदौ २०८० ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 9 =