एमाले लुम्बिनी अधिवेशन

एमाले लुम्बिनी अधिवेशन : महासचिव पोखरेलमाथि धक्का

किरण पौडेल २० भदौ २०८० १४:५५
2
SHARE
एमाले लुम्बिनी अधिवेशन : महासचिव पोखरेलमाथि धक्का एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ– पार्टीको लुम्बिनी प्रदेश अधिवेशनले एमाले महासचिव शंकर पोखरेललाई धक्का दिएको छ। प्रदेश अध्यक्षका लागि भएको निर्वाचनमा महासचिव पोखरेल निकट उम्मेदवार हरि रिजाल पराजित भएका हुन्। लुम्बिनी पोखरेलको गृह प्रदेश हो।

निर्वाचन परिणामअनुसार राधाकृष्ण कँडेलले ४७९ मत प्राप्त गरेर विजयी भएका छन् भने रिजालले ४७७ मत प्राप्त गरे। रिजाल दुई मतले पराजित भए पनि यसले महासचिव पोखरेलको राजनीतिक भविष्यलाई असर गर्न सक्ने चर्चा एमाले वृत्तमा हुन थालेको छ। पदाधिकारीमा पनि रिजाल समूहका एक जनामात्र उम्मेदवार विजयी भएका छन्।

पोखरेललाई एमालेमा कतिपयले पार्टीको भाबी अध्यक्षका रूपमा लिन्छन्। तर गृह प्रदेशको निर्वाचनमा उनी उपाध्यक्ष विष्णु पौडेलसँग कमजोर ठहरिएका छन्। पौडेलको गृह प्रदेश पनि लुम्बिनी हो। प्रदेश अध्यक्षमा निर्वाचित राधाकृष्ण कँडेल पौडेल निकट मानिन्छन्।

उपाध्यक्षमा कँडेल समूहकै भोजप्रसाद श्रेष्ठ अत्यधिक मतले निर्वाचित भएका छन्। उपसचिवमा रिजाल समूहका पूर्ण बुढामगर र महिला उपसचिवमा कँडेल समूहकी लीला रानामगर निर्वाचित भए। राना मगर बर्दियाका दिवंगत एमाले नेता देव रानाकी श्रीमती हुन्। विगतमा नेता वामदेव निकट देव बर्दिया जिविसको सभापति थिए। उपसचिवमा बुढा मगरबाहेक पदाधिकारी सबैमा कँडेल प्यानल विजयी भएको हो।

महासचिव पोखरेल गृह क्षेत्रमै कमजोरी देखिएको पहिलोपटक भने होइन। पोखरेल र पौडलबीच गत मंसिरको प्रतिनिधिसभा निर्वाचनमा पनि टकराव भएको थियो। पौडेलले चुनाव जितेका थिए। तर २०७४ को चुनावमा मुख्यमन्त्री बनेका पोखरेलका लागि २०७९ को प्रतिनिधिसभा चुनाव फापेन।

पोखरेल अध्यक्ष केपी ओलीका विश्वासपत्र भएकै कारण पदीय जिम्मेवारीमा पुगेको उनका प्रतिस्पर्धीहरू बताउँछन्। एमालेको चितवन महाधिवेशनमा पनि उनी ओलीकै सहयोगले महासचिव बनेका हुन्। यद्यपि पोखरेल एमाले वृत्तमा सैद्धान्तिक नेता तथा जनताको बहुदलीय जनवादको व्यख्याताका रूपमा परिचित छन्। पौडेल भने एमालेको ९ औँ महाधिवेशनबाट उपमहासचिव जितेका नेता हुन्।

एमाले महासचिव पोखरेलले पार्टीभित्र बेहोरेको यो नै पहिलो हार भने होइन। एमालेको २०६५ सालमा भएको ८ औँ महाधिवेशनबाट सचिव निर्वाचित पोखरेल २०७१ मा उनै विष्णु पौडेलसँग उपमहासचिवमा पराजित भएका थिए।  मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य पदमा पनि पोखरेल दाङ २ बाट सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए।

महासचिव पोखरेल लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री हुन्। २०७० को संविधानसभा सदस्य निर्वाचनमा दाङबाट हारेका उनले २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट प्रदेश सांसद निर्वाचित बन्दै लुम्बिनीको मुख्यमन्त्री बन्ने अवसर पाएका थिए।

२०७४ फागुन ३ देखि उनी २०७८ साउन २८ गतेसम्म गरी २ पटक लुम्बिनीको मुख्यमन्त्री बनेका थिए। पोखरेल २०६४ मा समानुपातिकतर्फबाट सांसद बनेका थिए। २०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ को संसदीय निर्वाचनमा पनि पराजय भोगेका थिए। उनी एकपटक सञ्चारमन्त्री भएका छन्।

२०१९ साल फागुन १५ गते जन्मिएका पोखरेल हाल ६० वर्षका भए। उनी एमालेको उमेर हद कायमै रहे पनि अझै १० वर्ष सक्रिय राजनीतिमा रहन पाउने देखिन्छ। २०१६ मंसिरमा जन्मिएका उपाध्यक्ष पौडेल ६४ वर्षका भए।

प्रकाशित: २० भदौ २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =