सर्वोच्चमाथि एमालेको टिप्पणी : रविको नागरिकता प्रकरणमा चमत्कार देखियो

हिमाल प्रेस १५ माघ २०७९ १६:०९
90
SHARES
सर्वोच्चमाथि एमालेको टिप्पणी : रविको नागरिकता प्रकरणमा चमत्कार देखियो

काठमाडौँ- नेकपा एमालेले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चामत्कारिक रहेको टिप्पणी गरेको छ। एमाले महासचिव शंकर पोखरलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित मुद्दा दर्ता गरिएको र यसमा अदालतको सक्रियता पनि चामत्कारिक रहेको बताएका हुन्।

पोखरेलले न्युज एजेन्सी नेपालसँग आइतबार भने, ‘रवि लामिछानेजीबारेको मुद्दा दर्ता गर्ने पक्षको नियत पनि बुझ्न सकिन्छ। न्यायिक सक्रियता पनि चामत्कारिक छ।’ तर सर्वोच्चको फैसलाको सम्मान गरी राजनीतिक समाधान खोजिने उनले बताए।

निवर्तमान उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको नागरिकता विवादमा परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको मन्त्री, सांसद र पार्टी सभापति पद खारेज भएको फैसला गरेको थियो। लामिछाने आइतबार नै नागरिकता पुनः प्राप्त गरिसकेका छन्।

महासचिव पोखरेलले त्यस्तै प्रकृतिका मुद्दा निरूपण गर्न उदासीन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति रहेको टिप्पणी गरे। कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको विषयमा अदालतले यथोचित जबाफ दिनुपर्ने पोखरेलको भनाइ छ।

उनले भने, ‘सर्वोच्च अदालतले आफ्नो भूमिकाका सन्दर्भमा उठिरहेका प्रश्नहरुको त उसले यथोचित जवाफ दिनैपर्छ र जनतालाई अदालतप्रतिको विश्वास पैदा हुने वातावरण सिर्जना गर्नुपर्छ।’

प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसद्ले लेखेको पत्रका बारेमा सर्वोच्चको सक्रियता अस्वाभाविक देखिएको उनको भनाइ छ।

‘कतै यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइएको हो। तर रविको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल हुँदैन।’

पोखरेलले भने, ‘अहिले रवि लामिछानेजीको विषयमा उसको न्यायिक सक्रियता प्रशंसा गर्न लायक छ भन्नुपर्छ। तर त्यो कुरा अरु मुद्दाका हकमा किन देखिँदैन?’ उनले पार्टीले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने प्रस्ट पारे।

यस्तै उनले विगतमा पीआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका अभ्यास रहे पनि त्यसमा कसैले प्रश्न नउठाएको बताए। महासचिव पोखरेलले भने, ‘आमअभ्यासलाई रवि लामिछानेले प्रयोगमा ल्याउनुभयो। आमअभ्यासमा जे भइराखेको छ त्यही अभ्यासमा उहाँ हिँड्न खोज्नुभयो। तर अदालतले चाहिँ भाषालाई समात्यो।’

मुद्दा परिसकेपछि अदालतले भाषालाई समाउने कुरा स्वाभाविक रहेको उनले बताए। उनले भने, ‘पीआर लिएर विदेशमा बसेकाहरू फर्केर आउँदा स्वतः नेपाली नागरिक भएका छन्। कसैले प्रश्न उठाएको छ र?’

पीआर लिएका व्यक्तिहरूले पीआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको यसअघि कहिल्यै नसुनेको पोखरेलले बताए। तर रवि लामिछानेको हकमा यसलाई विषय बनाइएको टिप्पणी उनको छ।

उनले भने, ‘यसले उनीहरुले सोचेजस्तो काम गर्दैन। किनकि राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले बिथोलिने होइन। राजनीति भनेको त्योभन्दा माथिको चिज हो। त्यस अर्थमा हामी यसलाई राजनीतिक ढंगले ट्याकल गर्छौँ।’

‘सत्ता समीकरणमा फेरबदल ल्याउँदैन’

महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको दाबी पनि गरे।

उनले भने, ‘कतै यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइएको हो। तर रविको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल हुँदैन।’  राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने दाबी महासचिव पोखरेलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =