देउवालाई शेखरको प्रश्न : प्रधानमन्त्री हामीले लिन सक्ने हो कि होइन?

हिमाल प्रेस १९ भदौ २०८० १४:०२
30
SHARES
देउवालाई शेखरको प्रश्न : प्रधानमन्त्री हामीले लिन सक्ने हो कि होइन? फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार कांग्रेसीहरूको पनि हो कि होइन भन्ने प्रश्न उठिरहेको बताएका छन्। मंगलबार नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकारमा कांग्रेसका मन्त्रीहरू भए पनि यो सरकार कांग्रेसको हो कि होइन भन्ने महसुस भइरहेको बताएका हुन्।

उनले भने, ‘हामी झन्डै ९० जना सांसद छौं। मन्त्रीहरू पनि छन्। तर सरकार हाम्रो हो कि होइन भन्ने महसुश भइरहेको छैन। जतिसुकै भने पनि संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो।’

उनले कांग्रेसले पनि कर्मचारीको गुनासो नसुनेको बताए। ‘सभापतिजी यहीँ हुनुहुन्छ, उहाँले त प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) सँग कुराकानी गरिरहनुभएकै हुन्छ। कुरा भइराखेकै होला। जतिसकै भने पनि प्रधानमन्त्री नै सर्वेसर्वा हो। प्रधानमन्त्रीले भनेका कुरा मन्त्रीहरूले काट्न नमिल्ने। त्यसकारण नेतृत्व हामीहरूले लिन सक्ने हो कि होइन?’

सरकारको नेतृत्व गर्न सके कांग्रेसले जनताको माग र समस्यालाई सम्बोधन गरेर आश्वास्त पार्न सक्ने उनको भनाइ छ। उनले देश कुनै पनि ठाउँबाट ठिक ठाउँबाट अघि नबढेको बताए। उनले भने, ‘किनभने अहिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक र कुटनीतिक कुनै पनिमा देश ठिक ठाउँबाट अघि बढेको छैन। म केही दिनअघि विराटनगर थिएँ। देख्दा धार्मिक युद्ध हो कि जस्तो देखिन्थ्यो त्यसमा जातीय गन्ध देखिएको थियो।’

गठबन्धनमा रहेका दलहरूले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन्। अहिले माओवादीले सरकारको नेतृत्व गरिरहेको छ। यसपछि नेपाली कांग्रेस वा नेकपा एकीकृत समाजवादीमध्ये एकले सरकारको नेतृत्व गर्नेछ।

प्रकाशित: १९ भदौ २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =