माओवादी रुपान्तरण अभियान : २५ लाख मतदातासँग भेट्ने, पार्टी सदस्यको संख्या ८ लाख पुर्‍याउने

हिमाल प्रेस १५ भदौ २०८० १७:१४
10
SHARES
माओवादी रुपान्तरण अभियान : २५ लाख मतदातासँग भेट्ने, पार्टी सदस्यको संख्या ८ लाख पुर्‍याउने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबार(भोलि)देखि सुरु गर्ने भएको छ। माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिबार एकैसाथ सुरु गर्ने भएको हो।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिए।

त्यसैगरी शनिबार नै दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्ने बताए। अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्र तोकिसकेको छ। अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरू खटिइसकेका उनले बताए।

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल चन्द्रागिरी नगरपालिका वडा नं. २ काठमाडौं घट्टेडाँडा पार्कको कार्यक्रममा सहभागी हुनेछन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानेछन्। उपाध्यक्षहरूमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसाल ललितपुर महानगरपालिका २२ ललितपुरको जिम्मेबारी लिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिए।

महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका ८ भोटेओडार लमजुङको जिम्मेबारी लिएका छन् भने उपमहासचिवहरू गिरीराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका ४ काठमाडौं, वर्षमान पुनले काठमाडौँ महानगरपालिका १६ गंगबु काठमाडौँ, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरी नगरपालिका वडा नं. २ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतको जिम्मेबारी लिएका छन्।

त्यसैगरी सचिवहरूमा दिनानाथ शर्मालाई बागलुङ नगरपालिका १२ बागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका १८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका २० कास्की, लिलामणि पोखरेललाई बर्दिवास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका १० बानेश्वर काठमाडौं, हितमान शाक्यलाई सिस्ने गाउँपालिका ६ रुकुमपूर्व, हितराज पाण्डेलाई पालुङटार नगरपालिका ६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका १६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्धशान्ति गाउँपालिका ४ झापाको जिम्मेबारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरी नगरपालिका २ काठमाडौंको जिम्मेबारी दिइएको जानकारी दिए।

माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ। अभियानको क्रममा त्यस्तै नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ। अभियानको क्रममा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने बताइएको छ।

प्रकाशित: १५ भदौ २०८० १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =