सुन तस्करीको सूचना संकलन गर्न सीआईबीका एसएसपी हङकङ प्रस्थान

हिमाल प्रेस १३ भदौ २०८० १९:३६
12
SHARES
सुन तस्करीको सूचना संकलन गर्न सीआईबीका एसएसपी हङकङ प्रस्थान

काठमाडौँ- हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना संकलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक जना उच्च अधिकृत आज (बुधबार) हङकङ प्रस्थान गरेका छन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिए।

हङकङबाट ब्रेक शुमा हालेर ६० किलो ७१६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

त्यसको १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीले लिएको थियो। सीआईबीले भदौ ८ गते सुनसम्बन्धीका आवश्यक सूचना र जानकारी भए सीआईबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोधसमेत गरिसकेको छ। आफैँ पनि सुनका विषयमा सूक्ष्म अनुसन्धानमा लागेको सीआईबीले इन्टरपोलको समेत सहयोग माग गरिसकेको छ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ। सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जसमा भारतीय र चिनियाँसहितका ६ जना विदेशी छन्। सीआईबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ।

थप तीन जना पक्राउ 

दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा आज (बुधबार) प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले आज काठमाडौँलगायत स्थानबाट ६० किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरिएका जानकारी दिए। सुन तस्करी प्रकरणमा उनीहरूसहित पक्राउ पर्ने २५ जना पुगेका छन्।

उनले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि भने राहुल महरालाई पक्राउ गरिएको जानकारी दिए। राहुलले भने आफैँ सीआईबीमा गएकार फेसबुकमार्फत सार्वजनिक गरेका छन्। भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ। गत वर्ष उक्त घटना भएको थियो।

प्रकाशित: १३ भदौ २०८० १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =