छोराछोरी समान भनेर संविधानमा लेखियो तर व्यवहारमा विभेद छ : अध्यक्ष पराजुली

हिमाल प्रेस २९ फागुन २०८० १०:५९
46
SHARES
छोराछोरी समान भनेर संविधानमा लेखियो तर व्यवहारमा विभेद छ : अध्यक्ष पराजुली

काठमाडौँ- राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले अझै पनि समाजमा छोराप्रतिको मोहका कारण महिलालाई गर्भ अवस्थादेखि नै मानसिक प्रेसर सुरु हुने बताएकी छन्। २१औँ शताब्दीमा पनि छोरा र छोरीबीच भेदभाव रहेको भन्दै मानसिकता परिवर्तन नभइ समानता कायम हुन नसक्ने बताइन्।

गैर-आवासीय नेपाली संघ हङकङ, महिला विभाग तथा नेपाली महिला संघ हङकङद्वारा संयुक्त रूपमा आयोजित ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बोल्दै अध्यक्ष पराजुलीले नेपालमा लोकतन्त्र, गणतन्त्रपछि महिलाका पक्षमा दर्जनौँ काननु परिवर्तन भए पनि मानसिकता भने परिवर्तन नभएको बताइन्।

‘समाजमा अझै पनि छोराप्रतिको मोह छँदैछ। छोराछोरी समान भनेर संविधानले सम्बोधन गरिसकेको छ। महिलाका पक्षमा दर्जनौँ कानुन परिवर्तन भएर पनि मानसिकता परिवर्तन नभएका कारण महिलामाथि अन्याय भइरहेको छ,’ अध्यक्ष पराजुलीले सोयना ढकालले मोडरेट गरेको प्यानलमा भनिन,‘गर्भ अवस्थादेखि नै महिलालाई मानसिक प्रेसर सुरु हुन्छ। के जन्मिने हो थाहा हुँदैन। तर छोरा नै पाउनुपर्ने मानसिकता बनाइदिन्छन्।’ उनले त्यस्तो मानसिकता नेपालमा मात्र नभइ भारत र बंगलादेशजस्ता मुलुकका पनि रहेको बताइन्। कार्यक्रममा भारतका कन्सुलर पनि सहभागी थिए।

उनले सुरक्षित वातावरण, अवसर भए महिलाहरूले सफलता हासिल गर्ने बताइन्। तर अहिले महिलाले हुर्कन, फस्टाउन, फूल्न, फल्न अवसर नपाएको उनले बताइन्। उनले भनिन्,‘महिला भनेको बिउ हो। अहिले बिउ राम्रोसँग उम्रिन नपाएको,उम्रिएको बिउले संघर्ष नपाएको, हुर्किने, फूल्ने र फल्न तथा फस्टाउने नपाएको अवस्था छ। महिलाहरूले समानताको अवसर पाएका छैनन्।’

कार्यक्रमको सहआयोजक  नमो बुद्ध धर्म सेन्टर (गुम्बा) हङकङ नेपाल, तमु ट्हो ह्युल हङकङ, महिला विभाग किरात राई चाम्लिङ खाम्बातिम हङकङ, महिला विभाग, मिसेस नेपाल हङकङ, मगर महिला संघ हङकङ, हेभेन्ली पाथ हङकङ, तामाङ घेदुङ संघ हङकङ रहेका थिए। कार्यक्रम पहिलो पटक यसरी प्यानलमा राखेर छलफल गराइएको थियो।

अघिल्ला वर्षहरूमा यसरी प्यानमा विषयगत छलफल गराउने गरिएको थिएन। यसमा सहभागी भएका पाहुनालाई सर्वसाधारणले पनि प्रश्न राखेका थिए। कार्यक्रमको सञ्चालन भने दिपमाला केडीले गरेकी थिइन। उनलाई मनिस लिम्वुले सञ्चालनमा साथ दिएका थिए। नेपालबाट नै प्रस्तोता बोलाउने गरेको भए पनि अहिले हङकङमा रहेका नेपाली युवायुवती नै यसमा सक्रिय रहेका हुन्। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका साथै महिलाहरूलाई सम्मान पनि गरिएको थियो।

 

प्रकाशित: २९ फागुन २०८० १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =