सगरमाथामा नारी दिवस

हिमाल प्रेस २५ फागुन २०८० २१:१९
38
SHARES
सगरमाथामा नारी दिवस

कालापत्थर (सोलुखुम्बु)- ११४औँ अन्तर्राष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा मनाइएको छ।

विभिन्न विधामा ख्यातिप्राप्त नारीको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा आज (शुक्रबार) सगरमाथा आधार शिविरमा सम्मेलन सकिएको हो। उक्त सम्मेलनले जलवायु न्यायका लागि सातबुँदे घोषणापत्रसमेत जारी गरेको छ।

जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालमा देखिएका असरका बारेमा विभिन्न तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गरी अघि बढ्ने, जलवायु न्याय, अनुकूलन र न्यूनीकरणका लागि स्थानीयस्तरमा पहलकदमी गर्ने घोषणापत्रमा उल्लेख छ।

साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमालय क्षेत्रसहित विभिन्न ठाउँमा पर्यटन प्रवर्द्धन गर्दै हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने तथा पुनः प्रयोग गर्न सकिने सामानलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरुक गराउनाका साथै जनचेतना जगाउने घोषणापत्रमा उल्लेख छ।

जलवायु परिवर्तनले ल्याएका समस्या समाधानका लागि हिमाल, पहाड, तराई र देशबाहिर रहेका सबै नेपालीसँग हातेमालो गर्ने तथा जलवायु न्यायका लागि समाजका विभिन्न तह र समुदायका महिलासहित सगरमाथा आधार शिविरमा उभिएकोलगायत बुँदा घोषणापत्रमा समेटिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले प्रकृति बचेमात्र प्राणीजगत रहने भएकाले यो समय प्रकृतिलाई पनि न्याय गर्ने बेला भएको बताइन्। जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी महिला र बालबालिका पीडित रहेकाले यसको न्यूनीकरणमा विश्व समुदाय जुट्नुपर्ने उनको जोड छ।

प्रकाशित: २५ फागुन २०८० २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =