सुन तस्करी प्रकरण : पक्राउ परेका महरा अस्पताल भर्ना

हिमाल प्रेस ५ चैत २०८० २१:२५
44
SHARES
सुन तस्करी प्रकरण : पक्राउ परेका महरा अस्पताल भर्ना

काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन्।

महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको छ।

स्वास्थ्य अवस्थाका कारण उनलाई अस्पतालमा राख्न अदालतले आदेश दिएकाले अस्पतालमा राखेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ।

महराले आफूले आठ प्रकारका औषधि खाइरहेकाले अस्पतालमा बस्न दिन माग गरेको र सोही आधारमा अस्पतालमा राखेर अनुसन्धान गर्न अदालतले भनेको हो ।

सरकारी वकिलको कार्यालयले सात दिनको म्याद मागेर अदालत पेस गरे पनि न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीलाई अनुमति दिएको हो।

सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुखसमेत रहेका महरालाई आजै काठमाडौँ ल्याउन ल्याएर म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले सोमबार बिहान उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए।

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए। रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

विदुयुतीय चुरोट (भेप)मा लुकाएर सुन ल्याएको प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ।

महराका छोरा राहुल सो मुद्दामा अहिले पनि पुर्पक्षका लागि थुनामा छन्। भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहुलविरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो।

महरा आफैँले पनि यस प्रकरणमा जोडिएकाहरूले फलफूल ल्याएको र त्यसलाई छुटाउन कर्मचारीलाई आफूले आग्रह गरेको सार्वजनिक कार्यक्रममै स्वीकारेका थिए।

प्रकाशित: ५ चैत २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =