‘भिरलाखुरी’बाट बागलुङ बजार हेर्दा

हिमाल प्रेस १० भदौ २०८० १९:३४
10
SHARES
‘भिरलाखुरी’बाट बागलुङ बजार हेर्दा

गलकोट- कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दै आएका छन्। सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अवस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका हुन्।

बागलुङ सदरमुकाम नजिकैको भिरलाखुरीलाई प्रवर्द्धन गर्न थालेपछि अहिले हाइकिङका लागि स्थानीय पर्यटक त्यहाँ पुग्न थालेका छन्। पछिल्लो समय झरना तथा दृश्यावलोकनका लागि पदयात्रामा जान, प्रकृतिसँग रमाउन, टिकटक बनाउन र फोटो खिच्न आउने पर्यटक बढ्न थालेपछि बागलुङ बजारदेखि ४५ मिनेटमै पुग्न सकिने भिरलाखुरीलाई प्रवर्द्धन गर्न थालिएको हो।

भिरलाखुरी भ्युप्वाइन्टको प्रचारप्रसार, प्रवर्द्धन र पूर्वाधारपछि अहिले बागलुङ बजारको दृश्यावलोकन गर्न आउनेको संख्या वृद्धि भइरहेको छ। बागलुङ नगरपालिका–६ मा पर्ने भिरलाखुरी पछिल्लो समय बागलुङ बजारको नजिकैको एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा परिचित हुन थालेको छ।

भिरलाखुरी भ्युप्वाइन्टबाट बागलुङ बजारका साथै पर्वतका नाग्लीवाङदेखि कुश्मा बजारसम्म देख्न सकिने भएकाले चर्चामा आउन थालेको त्यहाँका वडाध्यक्ष रुद्र केसीले बताए। अहिले भिरलाखुरी पुग्ने पदमार्ग, रेलिङ र होर्डिङबोर्ड कुर्ची, पिङ् खेल्ने झुलालगायत पूर्वाधारसमेत निर्माण गरिएपछि पर्यटकको संख्या वृद्धि भएको उनको भनाइ छ। गत आर्थिक वर्षमा नगरस्तरीय योजनामामार्फत तीन लाख र अघिल्लो आर्थिक वर्षमा दुई लाखको लागतमा पदमार्ग बनाइएको हो।

पदमार्गका लागि भिरलाखुरी पुगेका स्थानीय पर्यटन अभियन्ता सुलभ खड्काले भिरलाखुरी स्थल उत्कृष्ट गन्तव्य बन्न थालेको बताए। बागलुङबाट बिहान मर्निङ वाक गर्नेहरू समेत त्यहाँ पुग्ने गरेका छन्।

पदमार्गसहित बागलुङ बजार र कुश्मा बजारको दृश्वावलोकन गर्न, फोटो तथा भिडियो खिच्न यहाँ आउने गरेको स्थानीय रामजी नेपालीले जानकारी दिए। सूर्योदय र सूर्यास्तको दृश्यले मनै लोभ्याउने भएकाले त्यहाँ आउनेको संख्या वृद्धि भएको र बागलुङ बजारबाट हिँडेर ४५ मिनेट एवं मोटरसाइकलमा १० मिनेटमै त्यहाँ पुग्न सकिने उनले बताए। नेपालीले भिरलाखुरीको थप प्रचार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए। रासस

प्रकाशित: १० भदौ २०८० १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =