अर्थतन्त्रमा देखिएको समस्याले गतिविधि सुस्त बनायो : राष्ट्रपति

हिमाल प्रेस ७ भदौ २०८० १९:१२
4
SHARES
अर्थतन्त्रमा देखिएको समस्याले गतिविधि सुस्त बनायो : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिसँगको भेटमा राष्ट्रपति पौडेलले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा उनले यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक रहेको बताएको उल्लेख छ।

नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे।

राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पारे।

‘रोजगारी सृजना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा विघ्न बाधा देखा पर्ने गरेका छन्। यसैले गर्दा मूल्य वृद्धिलगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी सार्वजानिक साझेदारी वाञ्छनीय छ भन्ने मलाई लाग्छ,’ राष्ट्रपतिले बताएको विज्ञप्तिमा उल्लेख छ।

उनले नेपालमा रोजगारी सिर्जना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक रहे पनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताए।

भेटका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने बताए।

अध्यक्ष ढकालका अनुसार व्यवसाय शतप्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ तर व्यवसाय दुई तिहाइ खुम्चिँदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजश्व संकलन भएको छ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताए। उपाध्यक्ष हेमराज ढकालले यसपटक आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित रहेकोले तत्काल सुधार आवश्यक रहेको बताए। रासस

प्रकाशित: ७ भदौ २०८० १९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =