पहिले पाखो बारी, अहिले सुन्तला घारी

हिमाल प्रेस ५ भदौ २०८० १२:३७
4
SHARES
पहिले पाखो बारी, अहिले सुन्तला घारी फाइल तस्बिर

नवलपरासी- सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार फेरिएको छ। बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिन्छ। यो ठाउँमा पहिले अन्न कम उत्पादन हुने भिरालो र नाङ्गो जमिन थियो।

६४ वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हुँदैछन्। टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उनले २०७५ बाट व्यावासायिकरूपमा सुन्तलाको खेती गर्दै आएका छन्। ‘१४ रोपनीबाट सुरु भएको सुन्तला खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौँ,’ उनले भने।

उनका अनुसार बगैँचामा उन्सु जातका १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती–१, तीन सय बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप, लिचीलगायत फलफूल छन्। रेग्मीले भने, ‘यो सिजनमा सुन्तला र सुनकागती–१ को बिक्रीबाट १० लाख आम्दानी हुन्छ होला।’

सुन्तला बगैँचामा भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मंसिरको १५ देखि पुससम्मको लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने उनले बताए। जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म २ करोड ५० लाख लगानी गरेको रेग्मीको भनाइ छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिँचाइ, औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सीप, रोग कीराका बारेमा सल्लाह–सुझाव पाउँदा व्यावसायिक खेतीलाई बढाउन र पेसामा टिक्नका लागि ऊर्जा मिलेको उनले बताए।

पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चान भएसँगै स्थानीयले रोजगारीसमेत पएका छन्। ‘१५ दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ,’ उनले भने, ‘कामदार चाहिँदा सबै गाउँकै दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेका छाैँ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नवलपरासीमा २०७५ बाट सुन्तलाका फलफूल जोनको कार्यक्रम सुरुवात गरेको थियो। सुरुमा ३३१ हेक्टरमा हँुदै आएको खेती परियोजना अहिले ८१८ हेक्टर क्षेत्रमा विस्तार भएको छ।
परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्मा सुन्तलाको पुरानो बगैँचा व्यवस्थापन, नयाँ निर्माण, नर्सरी निर्माणसहित किसानलाई प्रविधिसँग जोड्दै उत्पादन क्षेत्र विस्तारमा काम गर्दै आएको बताउँछन्।

नवलपरासीमा सुन्तलाको सबैभन्दा धेरै बगैँचा भएको क्षेत्र नै गैँडाकोट–१८ रहेको उनको भनाइ छ। नवलपरासीको बुलिङटार, बौदिकाली गाउँपालिका, गैँडाकोट–१८, देवचुली–६, हुप्सेकोट–५, मध्यविन्दु–८ र १५ मा सुन्तला फलफूल जोन कार्यक्रम सञ्चालन गरिएको छ। कृषक समूह र उद्यमी गरेर पाँच सयभन्दा बढी किसान यसमा आबद्ध भएको परियोजनाले जनाएको छ।

– रासस

प्रकाशित: ५ भदौ २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =