बेनीमा ‘बर्खे नाच’ देखाउन सुरु

हिमाल प्रेस ५ भदौ २०८० ६:३५
बेनीमा ‘बर्खे नाच’ देखाउन सुरु

बेनी- म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ।  बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ। घण्टाकर्ण चतुर्दशीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाचहरु देखाइने यस बर्खे नाचले यहाँ जात्राकै उल्लास दिने गरेको छ।

बर्खेनाच अन्तर्गत सोमबारदेखि बेनीमा लाखे नाच देखाउन सुरु भएको छ। नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंकाः खलः ले जनाएको छ। मंका खल अन्तर्गतको युवाहरुको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ। यस बर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागीनी, धानको बाला र जोगी नाच देखाइने भएको छ।

परम्परागत रूपमा देखाइदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बाला नाच देखाउन लागिएको हो।

मंकाः खलः ले दुई सय बर्ष पुरानो बर्खेनाचको निरन्तरताको लागी नयाँ कलाकारहरुलाई तालिम दिने गरेको छ। नाचका विभिन्न नाचहरुमा ४० जनासम्म कलाकारहरु सहभागी हुने गर्छन्। आधुनिकताको प्रभाबले मौलिक र रैथाने संस्कृतिहरु लोप हुँदै गैरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन्।

बर्खेनाचका दर्जनौँ नाच लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाको जागरणले संरक्षण र संवर्द्धनमा टेवा पुगेको नेपाल भाषाः मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। यस बर्ष पनि युवालाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको उनले जानकारी दिए।

बर्खेनाच यहाँका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेपनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणको लागि अन्य समुदायको समेत सहभागीता हुन थालेको छ। बर्खे नाचमा मृढृंगा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबै जसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

खासगरी लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ। नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुईदिन वर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा देखाउने चलन छ।

बर्खेनाच अन्र्तगत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ।

रासस

प्रकाशित: ५ भदौ २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 19 =