‘चार्ज’ नबुझाई अमेरिका पुगेका डीआईजी खत्री २२ दिनपछि हाजिर

हिमाल प्रेस ४ भदौ २०८० १६:३३
1.2k
SHARES
‘चार्ज’ नबुझाई अमेरिका पुगेका डीआईजी खत्री २२ दिनपछि हाजिर

काठमाडौँ– डीआईजी अभिकुमार खत्री बिदामा बसेर अमेरिका जाँदा आफ्नो कमाण्ड क्षेत्रमा कसैलाई पनि जानकारी नदिएको पाइएको छ। २२ दिन बिदा बस्दा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिस्‍‌ठानमा कार्यरत डीआईजी खत्रीले कसैलाई पनि कार्यालयमा जानकारी नगराइएको पाइएको छ।

कार्यालय प्रमुख बिदा बस्दा एक तह तलको अधिकृतलाई कार्यालयको निमित्त बुझाउनुपर्ने हुन्छ। तर खत्रीले यो प्रावधानलाई बेवास्ता गरे। खत्री साउनमा आफ्ना परिवारका सदस्यसहित अमेरिका घुम्न गएका थिए। खत्री साउन ७  गते गएर साउन २९ गतेमात्रै कार्यालयमा हाजिर भएका थिए।

खत्रीले आफू बिदामा हुँदा आफूभन्दा तल्लो तहका अधिकृत एसएसपी कमल तिमिल्सिनालाई चार्ज बुझाउनु पर्ने भए पनि बुझाएनन्। ‘पहिलो त उहाँ बिदामा बसेको जानकारी नै छैन। दोस्रो जसलाई चार्ज (निमित्त तोक्ने) बुझाउनुपर्ने त्यो पनि बुझाउनु भएन’ सशस्त्र स्रोतले भन्यो।

सशस्त्र प्रहरीको मानव स्रोत विभागले मुख्यालयलाई जानकारी गराएर आपत्ति नै जनाएको छ। विभागले भदौ १ गते प्रतिस्‍‌ठानलाई पत्र लेखेर कार्यालय प्रमुख बिदामा बस्दा चार्ज अनिवार्य बुझाउनुपर्ने भनेको छ।

‘कार्यालय प्रमुख बिदा बस्दा चार्ज बरबुझारथ गर्नुपर्नेमा डीआइजी खत्री २२ दिन बिदा बसेर हाजिरमात्र भएको भन्ने जानकारी मात्र भएको छ,’ विभागले लेखेको निर्देशनात्मक पत्रमा भनिएको छ, ‘ २२ दिनसम्म प्रशिक्षण प्रतिस्‍‌ठान कस्को कमान्डमा थियो? त्यसबीचमा यहाँ कुनै अप्रिय घटना/दुर्घटना भएको भए को जिम्मेवार हुने?’

प्रकाशित: ४ भदौ २०८० १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =