पूर्वाधारले भरिपूर्ण ‘जलिवरे झरना’ : पर्यटकको राेजाइ, गाउँपालिकाको आम्दानी

हिमाल प्रेस ३ भदौ २०८० ८:४४
8
SHARES
पूर्वाधारले भरिपूर्ण ‘जलिवरे झरना’ : पर्यटकको राेजाइ, गाउँपालिकाको आम्दानी

भरतपुर- जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एक हो। इच्छाकामना गाउँपालिका-६ जलविरेमा अवस्थित प्रकृतिले भरिपूर्ण झरनामा पुग्ने जोकोहीको मन लोभिन्छ। यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन्।

पूर्वाधार निर्माणपछि यहाँ पर्यटकको चहलपहल झनै बढेको छ। झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गएको छ। अहिले सो झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ।

उक्त झरना अवलोकन गर्न पुग्ने पर्यटकबाट गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा २८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यहाँ प्रवेश गर्ने पर्यटकबाट ५० रुपैयाँ शुल्क लिइन्छ।

स्थानीय र विद्यार्थीका लागि २० रुपैयाँ शुल्क तोकिएको छ। यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन्। क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँलगायत अन्य ठाउँका पर्यटकसमेत यहाँ आउँछन्।

 

विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति ५ सय रुपैयाँ, वनभोजको १ हजार रुपैयाँदेखि ३ हजारसम्म र फिल्म सुटिङको ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताए।

उनले दैनिक १ सयदेखि १ सइ ५० जनासम्म पर्यटक यहाँ घुम्न आउने गरेको बताए। ‘नयाँ वर्षका दिन १५ सय जना आएको तथ्यांक छ,’ उनले भने, ‘जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन्।’

उनले यस वर्ष झन् धेरै पर्यटक जलविरे झरनामा घुम्न आउने अनुमान गरिएको बताए। विकास समितिले झरना र यहाँ भइरहेका विकास निर्माणको रेखदेख, पर्यटकका समस्या समाधान र गुनासो सुन्ने काम गरिरहेको उनको भनाइ थियो।

भारतबाट पनि यहाँ पर्यटक आउने गरेका छन्। जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन्। झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे (घरबास)को समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताए।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको १ सय २ मिटर लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ।

सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ। झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायत जिल्लाबाट पर्यटक आउँछन्।

नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन्। २०६९ देखि पर्यटन विकास सुरु गरिएको यहाँ पछिल्लो समय पूर्वाधार निर्माणले पनि फड्को मारेको छ।

झरना पुग्ने सडक निर्माणसँगै शौचालय, गोलघर, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ। अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम भइरहेका छन्। यस्तै प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडीपोखरी निर्माण गरिएको छ।

यस वर्ष झरनाको विकासका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। ‘झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन अथवा साइक्लिङ निर्माणको तयारी गरेका छौँ,’ गुरुङले भने, ‘पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा छौँ।’

यस वर्ष गाउँपालिकाले झरनाको सरसफाइमा विशेष ध्यान दिने अध्यक्ष गुरुङले बताए। ‘सरसफाइका लागि कर्मचारीको व्यवस्था गरेका छौँ, झरनासम्म खानेपानी र विद्युत्को समेत व्यवस्था गर्दैछौँ,’ उनले भने।

झरना नजिकै तीनवटा सटर निर्माण गरिएको छ। त्यहाँ जाने पर्यटकलाई खाजा खानका लागि सहज हुनेछ। गाउँपालिकाले झरना क्षेत्रमा कोसेली घरसमेत निर्माणको तयारी गरेको अध्यक्ष गुरुङको भनाइ छ। ‘इच्छाकामनामा उत्पादन भएका वस्तु कोसेली घरमा राखिनेछ। यहाँ आउने पर्यटकले स्थानीय उत्पादन घर लैजान पाउनुहुनेछ,’ उनले भने।
यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको अध्यक्ष गुरुङको भनाइ छ। रासस

प्रकाशित: ३ भदौ २०८० ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =