दुई कैदी मृत्यु प्रकरण : प्रहरी र कैदी मिलेर हत्या गरेको निष्कर्ष

हिमाल प्रेस ३२ साउन २०८० १७:३२
946
SHARES
दुई कैदी मृत्यु प्रकरण : प्रहरी र कैदी मिलेर हत्या गरेको निष्कर्ष

किमाथाङ्का- संखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ। छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएका हुन्।

यही साउन २४ गते बिहान भएको सो घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो। उक्त टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो।

कारागारमा रहेका ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले जानकारी दिए। कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए।

अनुसन्धानपछि केन्द्रीय छानबिन समितीले भोलि (शुक्रबार) उक्त घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाउने तयारी गरेको संयोजक पाण्डेले बताए। उनका अनुसार घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ।

मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो।

चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी गरेको छ। प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन।

घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ रहेका छन्। घटनालगत्तै अनुसन्धानका लागि उक्त टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो।

घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहित तीन जनाको टोली पनि सङ्खुवासभा आएको थियो। २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ कैदीबन्दी छन्। रासस

संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरुद्ध किटानी जाहेरी

संखुवासभा कारागारका दुई कैदी मृत्यु प्रकरण : असईसहित १० जना प्रहरी पक्राउ

कारागारभित्र हत्या प्रकरण : सुरक्षा इन्चार्ज, चौकीदार र ८ कैदीमाथि थालियो अनुसन्धान

दुई कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरीलाई पक्राउ गरी पाँच दिनको म्याद थपियो

दुई कैदीको ‘शंकास्पद’ मृत्यु

प्रकाशित: ३२ साउन २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =