दुई कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरीलाई पक्राउ गरी पाँच दिनको म्याद थपियो

हिमाल प्रेस २८ साउन २०८० २०:०९
534
SHARES
दुई कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरीलाई पक्राउ गरी पाँच दिनको म्याद थपियो

इटहरी- संखुवासभा कारागारमा दुई जना कैदीको संकास्पद मृत्यु भएपछि अनुसन्धानका प्रहरी सहायक निरीक्षक (असई)पक्राउ परेका छन्। पीडित परिवारका सदस्यले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले असई लक्ष्मी चौधरीलाई पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले आइतबार नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ। हिजो शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख राजेन्द्र घिमिरे र असई चौधरीविरूद्ध जाहेरी परेको थियो। पक्राउ अनुमति लिए पनि प्रहरीले घिमिरेलाई अझै पक्राउ गरिसकेको छैन।

संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत्यु भएको थियो। उनीहरूको कुटपिटबाट मृत्यु भएको प्रारम्भीक निष्कर्ष प्रहरीको छ।

यो घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी उपरीक्षक ऋषिराम कँडेल नेतृत्वमा अनुसन्धान टोली खटिएको छ। कँडेल नेतृत्वको अनुसन्धान टोलीमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्।

कारागारमा भएको सीसीटीभीको भिडियोमा पक्राउ परेका प्रहरीले कैदीमाथि हातपात गरेको देखिएको प्रहरीले जनाएको छ। आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको रड काटेर भाग्दै गर्दा ड्युटीमा खटिएका प्रहरीले देखेर खबर गरेका थिए। भाग्दै गर्दा उनीहरूलाई प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएका हुन्। त्यसदिन राति असई चौधरी ड्युटीमा थिए।

सोही आधारमा मृतकका परिवारले यस घटनामा चौधरी र घिमिरेको पनि संलग्नता भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका थिए। पोस्टमार्टम सकिए पनि परिवारले शव बुझ्न मानेको छैन।

प्रकाशित: २८ साउन २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =