शिक्षक महासंघकी अध्यक्ष तुलाधर एमाले प्रवेश

हिमाल प्रेस २७ साउन २०८० १२:३९
2.0k
SHARES
शिक्षक महासंघकी अध्यक्ष तुलाधर एमाले प्रवेश एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार बालकोटमा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर। तस्बिर : ओलीको सचिवालय

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघकी राष्ट्रिय अध्यक्ष कमला तुलाधर नेकपा एमाले प्रवेश गरेकी छन्। तुलाधरलाई शनिबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।

ओली निवास बालकोटमा आयोजित कार्यक्रममा तुलाधरलाई एमाले प्रवेश गराइएको हो। तुलाधर यसअघि नेकपा एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय सदस्य थिइन्। विद्यालय शिक्षासम्बन्धी विधेयकका विरोधमा महासंघ आन्दोलनमा उत्रिएका बेला अध्यक्ष तुलाधरले पार्टी परिवर्तन गरेकी छन्।

महासंघका तत्कालीन अध्यक्ष बाबुराम थापाको कार्यकाल सकिएपछि तुलाधर अध्यक्ष बनेकी थिइन्। त्यसअघि तुलाधर महासंघमा उपमहासचिव थिइन्। उनै थापाको पहलमा तुलाधरलाई एमाले प्रवेश गराइएको बताइएको छ। थापा हाल एमाले केन्द्रीय सदस्य छन्।

संसद्‌मा एमाले प्रमुख प्रतिपक्षी हो भने एकीकृत समाजवादी सत्तारूढ दल हो। मन्त्रिपरिषद्ले संसद्‌मा टेबुल गर्न स्वीकृति दिएको विद्यालय शिक्षासम्बन्धी विधेयकका मस्यौदामा विमति जनाउँदै विद्यालयका शिक्षकहरूले चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।

राजधानीमा शुक्रबार महासंघ अध्यक्ष तुलाधरको अगुवाइमा नेपाल शिक्षक महासंघले आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको थियो।

प्रकाशित: २७ साउन २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =