चित्ताकर्षक बुद्धजन्मस्थल [तस्बिरहरू]

विनोद परियार २७ साउन २०८० ८:२६
54
SHARES
चित्ताकर्षक बुद्धजन्मस्थल [तस्बिरहरू]

लुम्बिनी- वर्षायाम सुरु भएपछि प्रायः पर्यटकीय स्थलहरू सुनसान नै हुन्छन्। कतिखेर पानी पर्छ थाहा हुँदैन, त्यसैले आन्तरिक तथा बाह्य पर्यटकहरू यो सिजनमा निकै कम मात्रामा भ्रमण गर्छन्। तर यति बेला भ्रमण गर्दा भने हरियालीसहितको प्राकृतिक दृश्यले मन आनन्दित बनाउँछ।

बुद्धजन्मस्थल लुम्बिनीको दृश्य पनि यो सिजनमा यस्तै लोभलाग्दो देखिएको छ। पानी परेपछिको घाम लागेका बेला हरियालीसँगै सेतो आकारको मायादेवी मन्दिर सुन्दर देखिएको छ। मायादेवी मन्दिर, पुष्करणी ताल, शान्तिदीप, नहरका दुवैतर्फका दृश्य अनि विभिन्न देशका विहार र गुम्बा यहाँका आकर्षण हुन्।

अचेल पर्यटकको चहलपहल निकै कम भए पनि बुद्धप्रति आस्था राख्नेहरु भने आइरहन्छन। कोभिड महामारीपछि भारी मात्रामा कटौती भएको विदेशी पर्यटकको संख्या पछिल्लो एक वर्षमा उत्साहजनक रूपमा वृद्धि भएको लुम्बिनी विकास कोषले जनाएको छ।

सन् २०२३ को जुलाई महिनासम्म नेपाली, भारतीय र अन्य मुलुकका गरी ५ लाख ६० हजार ३ सय २५ जनाले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०२२ मा जुलाई महिनासम्म ४ लाख ६५ हजार ९ सय ७९ जना पर्यटक लुम्बिनी आएका थिए। यस हिसाबले गत वर्षभन्दा ९४ हजार ३४६ बढी पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्यांक छ।

गत वर्षको तुलनामा यस वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या  वृद्धि भएको कोषका सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले जानकारी दिए। उनले नेपाली, भारतीयसँगै सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटकको आवागमन वृद्धि भएको देखिएको बताए। उनका अनुसार गत वर्ष जुलाईसम्म नेपाली पर्यटकले ३ लाख ५५ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा यो वर्ष त्यो संख्या वृद्धि भएर ३ लाख ७९ हजार पुगेको छ।

त्यस्तै गत वर्ष भारतीय पर्यटकको संख्या १ लाख ६ हजार भएकोमा यो वर्ष जुलाईसम्म १ लाख ४३ हजारले भ्रमण गरिसकेको अधिकृत राईले बताए।

कोभिड महामारीपछि सबैभन्दा निकै कम मात्रामा आएका पासपोर्टधारी पर्यटक अर्थात् नेपाल र भारतबाहेकका पर्यटकको संख्या वृद्धि भएको सूचना अधिकृत राईले बताए। उनका अनुसार गत वर्ष जुलाईसम्म ३ हजार ९ ७५ पर्यटकले लुम्बिनी पाइला टेकेकोमा यस वर्ष संख्या हवात्तै बढेर  ३६ हजार ९९७ पुगेको छ। यो ८ सय ३० प्रतिशले वृद्धि भएको हो। कोभिडको समयमा विश्व घुम्न नपाएकाहरु बिस्तारै भ्रमणमा निस्कन थालेकाले पर्यटक संख्या वृद्धि भएको उनको भनाइ छ।

युक्रेन रुस युद्धका कारणले पनि शान्ति खोज्दै शान्तिभूमि लुम्बिनी भ्रमणमा आएको देखिएको उनले बताए। थाइल्यान्ड, श्रीलंका, म्यानमार, दक्षिण कोरिया र चीन छन्। यसका साथै जर्मनी र फ्रान्सबाट समेत पर्यटकहरु लुम्बिनी भ्रमणमा आएका छन्।

प्रकाशित: २७ साउन २०८० ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =