तलब भत्तामा कुन बैंकको कति खर्च?

हिमाल प्रेस २६ साउन २०८० १६:१८
40
SHARES
तलब भत्तामा कुन बैंकको कति खर्च?

काठमाडौँ– गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न बैंकले तलब भत्ताबापत् अर्बौँ रुपैयाँ खर्च गरेका छन्। २० वटा वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंक लिमिटेडले गत आवमा कर्मचारीको तलबमा मात्रै ४ अर्ब ५३ करोड खर्चेको छ। जुन अन्य बैंककोभन्दा बढी हो। आव २०७८/७९ मा एनआईसी एशियाले ४ अर्ब ८ करोड रुपैयाँ तलबमा खर्च गरेको थियो।

नबिल बैंकले तलब सुविधामा ३ अर्ब ९४ करोड खर्च गरेको छ। आव २०७८/७९ मा २ अर्ब २३ करोड खर्च गरेको थियो। गत आवमा नेपाल बंगलादेश बैंकलाई गाभेको कारणले पनि नबिलले कर्मचारीको तलबमा गरेको खर्च बढी देखिएको हो।

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६४ करोड रुपैयाँ तलबमा खर्च गरेको छ। अघिल्लो वर्ष २ अर्ब ७७ करोड खर्च गरेको थियो। नेपाल बैंकले गत आव २०७९/८० मा ३ अर्ब ४४ करोड कर्मचारीको तलबमा खर्च गरेको विवरण सार्वजनिक गरेको छ। अघिल्लो वर्ष २०७८/७९ मा २ अर्ब १६ करोड खर्च गरेको थियो।

ग्लोबल आइएमई बैंकले ३ अर्ब ४१ करोड रकम कर्मचारीको तलबमा खर्च गरेको छ। अघिल्लो वर्ष २ अर्ब ७९ करोड थियो। बाट  प्रभु बैंकले २ अर्ब ५१ करोडबाट बढाएर गत आवमा ३ अर्ब ३० करोड तलब भत्तामा खर्च गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कर्मचारीको सेवा सुविधामा २ अर्ब ६३ करोड खर्च गरेको विवरण सार्वजनिक गरेको छ। अघिल्लो आव २०७८/७९ मा मर्जरमा नगएका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले १ अर्ब ४९ करोड खर्च गरेका थिए।

सिद्धार्थ बैंकले गत वर्ष २ अर्ब ५४ करोड खर्च भएको विवरण सार्वजनिक गरेको छ। अघिल्लो आव २०७८/७९ मा २ अर्ब ३९ करोड खर्च गरेको थियो। कुमारी बैंक लिमिटेडले कर्मचारीको तलबमा २ अर्ब ४३ करोड खर्च भएको जानकारी गराएको छ। आव २०७८/७९ मा २ अर्ब ८ करोड खर्चेको थियो।

गत वर्ष एनएमबी बैंकले २ अर्ब ३८ करोड रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च भएको विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब २१ करोड खर्च भएको थियो। त्यसैगरी हिमालयन बैंकले कर्मचारीको तलबमा २ अर्ब खर्च गरेको विवरण सार्वजनिक गरेको छ। अघिल्लो आव २०७८/७९ मा १ अर्ब ३९ करोड खर्च भएको थियो।

माछापुच्छ्रे बैंकले आव २०७८/७९ मा १ अर्ब ७६ करोड खर्च गरेको थियो। गत आवमा १ अर्ब ९७ करोड रुपैयाँ कर्मचारीको तलबमा खर्च भएको जानकारी गराएको छ। एभरेस्ट बैंकले अघिल्लो आवमा खर्च गरेको १ अर्ब ८० करोडबाट ३ करोड बढाउँदै गत आवमा १ अर्ब ८३ करोड खर्च गरेको छ।

एसबीआई बैंकले गत वर्ष १ अर्ब ८० करोड रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेको छ। अघिल्लो आव २०७८/७९ मा १ अर्ब ६६ करोड खर्च गरेको बैंकको विवरणमा उल्लेख छ। गत आवमा सिटिजन्स बैंकले तलबबापत् १ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको छ। आव २०७८/७९ मा १ अर्ब ५८ करोड खर्च गरेको थियो।

त्यस्तै लक्ष्मी सनराइज बैंकले १ अर्ब ६१ करोड खर्च गरेको छ। अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ तलबमा खर्च गरेको बैंकको विवरणमा उल्लेख छ। सानिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ कर्मचारीको तलबमा खर्चेको छ। आव २०७८/७९ मा १ अर्ब ३४ करोड खर्चेको थियो।

प्राइम कमर्सियल बैंकले कर्मचारीको सेवा सुविधामा १ अर्ब ५१ करोड खर्च गरेको छ। प्राइमले आव २०७८/७९ मा १ अर्ब ३९ करोड खर्च गरेको थियो। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २० करोड रुपैयाँ कर्मचारीको तलबमा खर्च गरेको छ। आव २०७८/७९ मा १ अर्ब ४ करोड खर्चेको थियो।

१९ वटा वाणिज्य बैंकले कर्मचारीको तलबभत्तामा गरेको खर्च बढाए पनि सरकारी स्वामित्वको कृषि विकास बैंकले भने घटाएको छ।  आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ६० करोड खर्च गरेको थियो। गत आव २०७९/८० मा ३ अर्ब १२ करोड खर्च गरेको छ।

प्रकाशित: २६ साउन २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =