बैंकमा थुप्रियो पैसा : ‘लगानीको वातावरण छैन’

हिमाल प्रेस १ चैत २०८० १८:११
18
SHARES
बैंकमा थुप्रियो पैसा : ‘लगानीको वातावरण छैन’

काठमाडौँ- चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार ७ महिनामा २० वटा वाणिज्य बैंकले कुल ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका हुन्।

बैंकले नाफा कमाए पनि कर्जा प्रवाह नहुँदा पैसा बैंकमै थुप्रिएको छ। पैसा थुप्रिएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाउँदै आएका छन्। गत आर्थिक वर्षदेखि कर्जा प्रवाह नहुँदा र लगानीको वातावरण नबन्दा बैंकहरूले आफ्नो नाफा लगानी गर्न पाएका छैनन्। ‘अहिले बैंकसँग लगानी गर्न पैसा छ तर कर्जा र लगानी गर्ने वातावरण छैन’, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। बैंकहरू कर्जा र अन्य क्षेत्रमा लगानी गर्न तयार भए पनि वातावरण नभएको केसीले बताए।

केसीका अनुसार बैंकसँग नाफा कमाएको पैसा मात्र होइन अरू पैसा पनि छ। सरकारले तत्काल लगानीमैत्री वातावरण बनाउनुपर्ने माग उनको छ। ‘बैंकमा पैसा छ भनेर बस्ने हो भने भोलि यसबाट अर्को समस्या आउन सक्छ। त्यही भएर लगानीमैत्री वातावरण बनाउनुपर्छ’, उनले भने।

अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्मा पनि दुई वर्षअघिको तुलनामा कर्जाको माग र लगानी घटेका कारण बैंकमा पैसा थुप्रिएको बताउँछन्। सरकारले सम्बन्धित निकायसँग छलफल गरेर लगानीको वातावरण र कर्जा प्रवाह बढाउन योजना बनाइरहेको उनले बताए। ‘बैंक लगानी गर्न सबल हुनु र कर्जाका लागि पैसा हुनु राम्रो हो। अहिले यी समस्या व्यवस्थापनका लागि गम्भीर छलफल भइरहेको छ’, शर्माले भने।

कुन बैंकको कति नाफा?

चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ। यस अवधिमा नबिलले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो। राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रोमा ग्लोबल आईएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी प्राइम कमर्सियल बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड ९ लाखरुपैयाँ, एनआईसी एसिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ र एभरेस्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका छन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ र एनएमबी बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ।

कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ र कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन्।

पाँचवटा बैंकले अर्बभन्दा कम पैसा नाफा कमाएको बैंकको तथ्यांकमा छ। जसअन्तर्गत सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =