वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा परिवारलाई १० लाख दिइने

हिमाल प्रेस २४ साउन २०८० १९:२४
22
SHARES
वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा परिवारलाई १० लाख दिइने

काठमाडौँ- वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डमार्फत श्रमिकले पाउने सेवा सुविधामा वृद्धि गरेको छ। मन्त्रालयद्वारा बुधबार आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँग छलफल’ कार्यक्रममा सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगार व्यवस्थापन तथा मन्त्रालयबाट भए गरेका कामलाई प्रभावकारी बनाउनेबारे पछिल्लो समयमा गरेको प्रयासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगार बोर्डमार्फत श्रमिकले पाउने सेवा सुविधामा वृद्धि भएको बताए।

कामदारको मृत्यु भएमा दिने रु सात लाखलाई वृद्धि गरी रु दश लाख पुर्याइने, वैदेशिक रोजगारीबाट फर्केर आउने श्रमिकको स्वास्थ्य परीक्षण गरिने, विभिन्न देशमा मनोसामाजिक परामर्श एवं स्वास्थ्य परीक्षण क्याम्पमार्फत सेवा प्रवाह गरिने,ठगी नियन्त्रणमा अधिकार प्रत्यायोजन, सामाजिक सुरक्षाकोषको सेवा विस्तार गरिनेलगायतका विषय पोखरेलले कार्यपत्रमा उल्लेख गरेका छन्।

कार्यक्रममा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताए। उनले सही सूचनाको प्रवाह, ठगी नियन्त्रणलगायतका विषयबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताए।

‘वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन। यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ,’ उनले भने। सचिव भण्डारीले सूचनाको अभावकै कारणले वैदेशिक रोजगारीमा जाने मानिस ठगिएकाले ठगी नियन्त्रणलाई प्रभावकारी बनाउन विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न जरुरी रहेको बताए। ‘जसरी विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन गरी वैदेशिक रोजगारीबारे प्रचारप्रसार गरिएको छ। सोहीअनुरूप ठगी नियन्त्रण सचेतनाका विषयलाई आमजनतामा पुर्याउन आवश्यक छ’, उनले भने।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। “विभागले वैदेशिक रोजगारीमा नियमनकारीको भूमिका निर्वाह गरिरहेको छ। चेतनाको कमीबाट हुने ठगी र व्यावसायिक ठगीलाई नियन्त्रण गर्न लक्षित वर्गमा सचेतना गराउन जरुरी छ’, उनले भने।

प्रकाशित: २४ साउन २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =