उद्धार कार्यमा प्रशासनको अंकुशपछि रास्वपाको यस्तो स्पष्टोक्ति

हिमाल प्रेस २४ साउन २०८० १७:००
18
SHARES
उद्धार कार्यमा प्रशासनको अंकुशपछि रास्वपाको यस्तो स्पष्टोक्ति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको र्‍यापिड एक्सन टिम (र्‍याट)लाई सरकारका स्थानीय तहमा रहेका सम्बन्धित निकायसँग अनुमति र समन्वय गर्न निर्देशन दिएको छ। मंगलबार मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने कार्यमा सहजीकरण गर्न रास्वपाको र्‍याट टिम खटिएको थियो। उक्त टिमबारे जिल्ला प्रशासन कार्यालयले समन्वय नगरेको भन्दै प्रश्न उठाएपछि पार्टीले यस्तो निर्देशन दिएको हो।

बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै रास्वपा प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकालले नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि भनेका छन्।

‘आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु र्‍यापिड एक्सन टिम गठन गरेको हो। अविरल वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको परिप्रेक्ष्यमा पार्टीका अन्य संयन्त्र र र्‍याट जनजीविकाका समस्या सहजीकरणका लागि खटिनु अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमतिमा मात्र खटिनका लागि निर्देशानुसार र्‍याट, पार्टी पंक्ति तथा सम्बन्धित सबैमा सूचित गराइएको जानकारी गराइन्छ।’

मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। सोक्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको थियो।

जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आरएटी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।

विजयी भएको एक सय दिन पुगेको अवसरमा केही दिनअघि रास्वपाका सभापति रहेका चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि र्‍यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए।

रास्वपाको आरएटीप्रति सरकारकाे आपत्ति, भन्याे- अमुक दललाई उद्धारकार्यकाे स्वीकृति छैन

प्रकाशित: २४ साउन २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =