रास्वपाको आरएटीप्रति सरकारकाे आपत्ति, भन्याे- अमुक दललाई उद्धारकार्यकाे स्वीकृति छैन

हिमाल प्रेस २४ साउन २०८० १५:२२
10
SHARES
रास्वपाको आरएटीप्रति सरकारकाे आपत्ति, भन्याे- अमुक दललाई उद्धारकार्यकाे स्वीकृति छैन रास्वपा केन्द्रीय कार्यालय

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) प्रति सरकारले आपत्ति व्यक्त गरेकाे छ।

वर्षाका कारण ठाउँठाउँमा बाढीपहिराे गएकाे र नारायणगढ-मुग्लिन सडक खण्ड पनि पहिराे गएका कारण अवरुद्ध भएकाे थियाे। सडक अवरुद्ध भएपछि रास्वपाले आफ्नाे आरएटी टाेली खटाएकाे थियो। जिल्ला प्रशासन कार्यालयले त्यसप्रति ध्यानाकर्षण भएकाे बताएकाे छ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार सूचना जारी गर्दै कुनै अमुक दल तथा सोअन्तर्गतका संगठनको पहिरो पन्छाउन सहयोग नलिईएको र लिन स्वीकृत पनि नदिइएको बताएका छन्।

उक्त सडक खण्डअन्तर्गत कालीखोलामा मंगलबार लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएकामा स्थानीय प्रशासन, प्रहरीको टोली तथा राज्यका अंगको पहलमा पहिरो पन्छाई सडक सञ्चालन गरिएको उनले बताए।

अहिले ट्राफिक व्यवस्थापनको कार्यसमेत नियमित रूपमा भइरहेको जनाउँदै प्रजिअ पौडेलले यस कार्यका लागि सरकारी निकाय सक्षम रहेको बताए। सूचनामा भनिएको छ, ‘पहिरो पन्छाई सडक सञ्चालन भइसकेको र ट्राफिक व्यवस्थापनसमेत नियमित रूपमा भइरहेकामा कुनै अमुक दल वा सोअन्तर्गतका संगठनको सहयोग नलिइएको र लिन स्वीकृति पनि नदिइएको जानकारी गराइन्छ।’

रास्वपा आबद्ध युवाले आरएटी लेखिएको सञ्चार उपकरण (वाकिटकी) सहित फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकामा पहिरो पन्छाउँदा प्रयोग गरिएका उक्त सामग्री स्वीकृति र दर्ता भएनभएको समेत छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको सूचनामा उल्लेख छ। ‘प्रकृतिक विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको जानकारी गराउँदछौँ। ठूला विपद्का घटनामा राजनैतिक दल, नागरिक समाजलगायत सर्वसाधारणबाटसमेत सहयोग लिन सकिने छ,’ सूचनामा भनिएको छ, ‘यसरी सहयोग लिँदा कुनै दल विशेष वा संगठनको परिचयपत्र विना स्वयम् सेवामा खटिने व्यक्तिले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृत लिई सुरक्षाकर्मीसँगको समन्वयमा उद्धार कार्यमा खटिन सक्ने छन्।’

रास्वपा पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ मा निर्वाचित भएको एक सय दिनमा यहाँ आयोजना गरिएको कार्यक्रममा जनहितका लागि कार्यक्रम घोषणा गरिएको बताए। सोही कार्यक्रमअन्तर्गत आरएटी परिचालन गरिएको थियो। रासस

प्रकाशित: २४ साउन २०८० १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =