भारत-पाकिस्तान सम्बन्ध सुधारमा दुईपक्षीय चासाे

हिमाल प्रेस २३ साउन २०८० १५:०४
4
SHARES
भारत-पाकिस्तान सम्बन्ध सुधारमा दुईपक्षीय चासाे

नयाँदिल्ली- भारतले पाकिस्तानसँगको सम्बन्ध सुधार गर्न तत्पर रहेको बताएको छ। आतंकवाद र हिंसामुक्त वातावरण बनेमा द्विपक्षीयमैत्री सम्बन्धमा विमति नहुने नयाँदिल्लीले बताएकाे हाे।

हालै पाकिस्तानकाे इस्लामावादमा खनिज शिखर सम्मेलनको उद्घाटन समारोहमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राष्ट्र निर्माणका लागि आफू छिमेकीसँग वार्ता गर्न तयार रहेको बताएपछि त्यसको जवाफमा भारतले हिंसामुक्त वातावरण बनेमा द्वपक्षीय सम्बन्ध सुधारका लागि विमति नरहेकाे बताएकाे हाे।

भारतको विदेश मन्त्रालय (एमईए)का प्रवक्ता अरिन्दम बागचीले भारत पाकिस्तानसँग मैत्रीपूर्ण सम्बन्ध चाहने तर त्यस्तो सम्बन्धका लागि आतंकवाद र हिंसामुक्त वातावरण बन्नुपर्ने बताए। ‘पाकिस्तानी प्रधानमन्त्रीको अभिव्यक्तिबारे हामी जानकार छौँ। यससम्बन्धमा भारतको स्पष्ट र सुसंगत अडान सबैलाई अवगत छ,’ उनले भने, ‘हामी पाकिस्तानसहित हाम्रा सबै छिमेकी देशसँग सामान्य सम्बन्ध कायम गर्न चाहन्छौँ तर त्यसका लागि आतंक र शत्रुतामुक्त वातावरण अपरिहार्य छ।’

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै दुई देशबीचको तनावपूर्ण सम्बन्धको इतिहास भए पनि पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रले झेल्नुपरेको आर्थिक कठिनाइलगायत समस्या सामना गर्न भारतसँगको वार्तालाई जोड दिएका हुन्।

गरिबी, बेरोजगारी, वित्त, शिक्षा, स्वास्थ्य र जनकल्याणका निम्ति आवश्यक स्रोतको अभावमा छिमेकीसँग सधैँ वैरभावका साथ बस्ननहुने निष्कर्षसहित उनले वार्ता गर्न आफू नेतृत्वको सरकार तत्पर रहेको बताएका हुन्। ‘हाम्रा छिमेकीहरूसँग हामी वार्ता गर्न तयार छौँ, यदि छिमेकी गम्भीर विषयमा टेबलमा बस्न सहमत भएमा त्यो असंभव छैन,’ उनले भने, ‘पाकिस्तान एक आणविक शक्ति हो यसलाई हामीले आक्रमणका लागि नभई आफ्नो रक्षाका लागि विकास गरेका हौँ।’

विगत ७५ वर्षमा तीनवटा युद्ध लडेको देशका प्रधानमन्त्रीले भारतसँग सबै समस्याको समाधान छलफल र संवादका माध्यमबाट खोज्नुपर्ने उनकाे भनाइ थियाे।

आणविक होडबाजीको सट्टा आर्थिक प्रतिस्पर्धा गर्नु दुवै देशका निम्ति लाभदायक हुने तर्क गर्दै प्रधानमन्त्री सरिफले आपसी चासो र विवादका विषयको निरूपण शान्तिपूर्ण छलफलबाट नगरेसम्म दुवै देश सामान्य छिमेकी हुन नसक्ने बताएका थिए।

यसअघि पनि पाकिस्तानी प्रधानमन्त्रीले भारतसँग वार्ता गर्न आफ्नो सरकार इच्छुक रहेको बताउँदै ‘कसैका विरुद्धमा कोही’ नभएको उनले बताए। पाकिस्तानको स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध कहिल्यै पनि सामान्य हुन सकेको छैन। भारतले पाकिस्तानमाथि सधै सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै आतंकवादका बीचमा वार्तालाई निरन्तरता दिन नसकिने अडान राख्दै आएकाे छ।

सन् २०१९ को अगस्ट ४ मा जम्मूकश्मीरको विशेष दर्जा खारेज गरी त्यसलाई (जम्मुकश्मिर र लद्दाख) दुई केन्द्र शासित प्रदेशमा विभाजन गर्ने भारत सरकारको निर्णयको विरोधमा तत्कालीन इमरान खान नेतृत्वको पाकिस्तान सरकारले पाकिस्तानका लागि भारतीय राजदूतलाई निष्कासन गरेको थियो। उक्त कारबाहीपछि द्विपक्षीय व्यापार अझ पनि सञ्चालन हुन सकेकाे छैन। रासस /एएनआई

प्रकाशित: २३ साउन २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =