एसिया कप २०२३ : बाबर आजमलाई रोक्न सक्ने यी भारतीय बलर

हिमाल प्रेस १४ भदौ २०८० १८:२५
16
SHARES
एसिया कप २०२३ : बाबर आजमलाई रोक्न सक्ने यी भारतीय बलर

काठमाडौँ- एसिया कपमा शनिबार भारत र पाकिस्तान भिड्दैछन्। श्रीलंकाको क्यान्डीमा शनिबार नेपाली समयअनुसार दिउँसो सवा ३ बजेबाट दुई टिमबीच खेल हुनेछ।

प्रतियोगिताको तेस्रो खेलअन्तर्गत श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुवै टिम भिड्नेछन्।

भारत र पाकिस्तान करिब ४ वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने हुँदैछन्। पछिल्ला दुई वर्षमा दुवै टिमबीच टी–२० मा धेरै पटक खेले पनि एकदिवसीय खेलमा खेलेका थिएनन्।

एक दिवसीयमा धेरै खेलाडीले आपसमा प्रतिस्पर्धा गर्नेछन्। ती खेलाडीको प्रतिस्पर्धापछिमात्रै विजेताको टुंगो लाग्नेछ। आपसमा भिड्ने खेलाडी हुन् : रोहित शर्मा भर्सेस शाहिन शाह अफ्रिदी, बाबर आजम भर्सेस कुलदीप यादव, फखर जमान भर्सेस जसप्रित बुमराह, विराट कोहली भर्सेस हरिस रौफ र श्रेयस अयर भर्सेस शादब खान रहेका छन्।

रोहित शर्मा भर्सेस शाहीन शाह अफ्रिदी

शाहिन अफ्रिदी सुरुका ओभरमा निकै खतरनाक बलिङ गर्छन्। उनले २०२१ को टी–२० विश्वकपको पहिलो ओभरमा रोहित शर्माको विकेट लिएका थिए। बुधबार नेपालविरुद्धको खेलमा पनि उनले पहिलो ओभरमै २ विकेट लिएका थिए।

उनले भारतीय कप्तान रोहित शर्मासँग कडा प्रतिस्पर्धा गर्न सक्छन्। रोहितले एकदिवसीय क्रिकेटमा शाहिनविरुद्ध १९ बलमा १८ रन बनाएका छन्।

फखर जमान भर्सेस जसप्रित बुमराह

सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी फाइनलमा बुमराहले फखरलाई आउट गरेका थिए। तर अम्पायरले नो बल घोषित गरे। त्यसपछि फखरले शतक प्रहार गरेपछि भारत पराजित भएको थियो।

फखर जमान फेरि बुमराहको सामना गर्नेछन्। समग्रमा एकदिवसीयमा बुमराहको ४५ बल खेलेका फखर एकपटक आउट भएका छन् भने २५ रनमात्रै बनाउन सकेका छन्।

विराट कोहली भर्सेस हरिस रौफ

यी दुई खेलाडीको भीडन्त निकै रोचक हुने गरेको छ। २०२२ को टी-२० विश्वकपमा विराट कोहलीले रौफको बलमा लगातार दुई छक्का प्रहार गरेर खेललाई भारतको पक्षमा पारेका थिए।
रौफको गति र विराटको ब्याटबीच फेरी भिडन्त हुनेछ। टी–२० मा विराटले रौफको ३२ बलमा ४२ रन बनाएका छन्।

श्रेयस अय्यर भर्सेस शादब खान

श्रेयस अय्यर करिब ८ महिनापछि भारतीय टिममा फर्किएका छन्। उनले अहिलेसम्म शादब खानको बलिङमा ब्याटिङ गरेका छैनन्। तर, स्पिनविरुद्ध अय्यरले उत्कृष्ट ब्याटिङ गर्छन्। शादब उत्कृष्ट लयमा छन्। यस्तो अवस्थामा भारतका मिडल अर्डर ब्याट्सम्यान र पाकिस्तानका प्रमुख स्पिनरबीच कडा प्रतिस्पर्धा हुनेछ।

बाबर आजम भर्सेस कुलदीप यादव

बाबर आजम अहिले विश्वकै उत्कृष्ट ब्याट्सम्यान छन्। उनले बुधबार नेपालविरुद्ध १५१ रनको इनिङ्स खेलेका थिए। २०१९ को विश्वकपमा कुलदीपले बाबरविरुद्ध खतरनाक बलिङ गरेका थिए।

त्यस्तै २०१८ को एसिया कपमा पनि बाबरलाई कुलदीपले बोल्ड गरेका थिए। हालसम्म बाबरले कुलदीप यादवको ३४ बल खेलेर १८ रनमात्रै बनाएका छन्। सो अवधिमा बाबर दुई पटक आउट भएका छन्। फेरि यी दुईबीच प्रतिस्पर्धा हुने भएको छ। यादवलाई उत्कृष्ट लयमा रहेका बाबरलाई रोक्न सक्ने बलरका रूपमा हेरिएको छ।

प्रकाशित: १४ भदौ २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =