पर्यटक तान्ने हिमताल

हिमाल प्रेस २१ साउन २०८० १४:५७
12
SHARES
पर्यटक तान्ने हिमताल

मनाङ- यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्छन्। विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ।

यहाँका अग्ला डाँडाकाँडा, छहरा, झरनामा पर्यटकले मोहित हुँदै मनाङ प्रवेश गर्छन्। यहाँका सफा, स्वच्छ झरना, छहराका पानीले मोहित पारेको पर्यटक बताउँछन्। यहाँको हिमनदीबाट झरेर बनेका तालमा रमाउँदै यहाँको आनन्द लिने गरेको उनीहरू बताउँछन्।

जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको उनीहरू बताउँछन्। कजिनसारा ताल, ड्रोना ताल, गंगापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोंकर ताल, तिलिचो ताललगायत छन्।

यी तालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। ‘यहाँ आउने पर्यटकले विशेषगरी ताल, हिमशृंखला, झरनाले आकर्षित गरेको बताउँछन्, यहाँका ताल, झरनामा रमाउने र सहज रूपमा पुग्ने बनाउन लागिपरेका छौँ,’ उनले भने।

झरना र तालतलैयामा सहजै पुग्ने गरी विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उनले बताए। ‘नयाँ ताल खोजी, भएका तालमा पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो,’ उनले भने। चामे गाउँपालिकामा कजिनसारा, ड्रोना ताल पर्छन्।

मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल छन्। यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गंगापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोंकर ताल पर्छन्। यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको छ।

यहाँका तालतलैयासम्म पुग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ। तालसम्म पुग्ने बाटोमा गाउँपालिकासँगै एक्यापले विभिन्न चिह्न राखेकाे छ। मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताए।

यहाँ धेरै ताल रहेकाले कति ताल अझै गुमनाम रहेको उनकाे भनाइ थियाे। हिमालबाट लुकेर आएको पानी नै यहाँ अधिकांश ताल बन्ने गरेका छन्। यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए। पर्यटनको हबका साथै मनाङलाई फिल्म छायांकनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उनको भनाइ छ।

दुई याममा पर्यटक यहाँ घुम्न आउँछन्। ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने गरी निर्धारण गरिएको छ। पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङे चौतारामा रहेको छ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ। काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमार्फत पर्यटक आउने गर्छन् र पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रा सुरु गर्छन्। रासस

प्रकाशित: २१ साउन २०८० १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =