बाँकेमा बेचबिखनमा परेका २ सय ८८ महिलाको उद्धार

हिमाल प्रेस १८ साउन २०८० २१:२५
8
SHARES

नेपालगञ्‍ज- शान्ति पुनःस्थापना गृह, बाँकेले विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ। सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरेकाे हाे।

त्यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए। उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ महिला छन्। अहिलेसम्म जिल्लाका सबै नाकामा ४० हजार पाँच सय ४६ जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए।

सुवेदीका अनुसार एक वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन्। ‘खुला सीमा भएका कारण मानव बेचबिखन रोकथाममा चुनौती छ,’ उनले भने। गरिबीका कारण अवसर खोज्दा दलालको चङ्गुलमा फस्ने खतरा रहेको भन्दै संयोजक सुवेदीले मानव बेचबिखनको जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको बताए।

पुनःस्थापना गृह बाँकेकी संयोजक सिर्जना गौतमले नयाँनयाँ तरिका अपनाएर मानव बेचबिखन गर्न थालिएको जानकारी दिइन्। आर्थिक वर्ष २०७९/८० मा भारतबाट उद्धार गरिएकाको संख्या २२ रहेको छ। संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनमध्ये एक सय २४ जना भेटिएको तथ्यांक छ। रासस

प्रकाशित: १८ साउन २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =