सुविधाको खोजीमा नवलपरासीका गाउँबाट सहर जाने बढे

हिमाल प्रेस १८ साउन २०८० १२:००
10
SHARES
सुविधाको खोजीमा नवलपरासीका गाउँबाट सहर जाने बढे नवलपरासीको हुप्सेकोट गाउँ।

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रको जनसंख्या घट्दो क्रममा रहेको छ। सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ।

स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसंख्याको चाप बढेको हो।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसंख्या ऋणात्मक देखिएको छ।

बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसंख्या पनि विस्तारै घट्दो क्रममा रहेको छ।

मुख्य राजमार्गले छोएका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षमा बढेको देखिन्छ।

राष्ट्रिय जनगणना ०७८ को तथ्यांकअनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको छ।

तथ्यांक कार्यालय नवलपुरले दिएको जानकारीअनुसार बौदीकालीको जनसंख्या वृद्धिदर ऋणात्मक ३ दशमलव १४ र बुलिङटारको जनसंख्या वृद्धिदर ऋणात्मक २ दशमलव ५७ रहेको छ।

०६८ को राष्ट्रिय जनगणनामा १९ हजार १ सय २२ जनसंख्या रहेको बुलिङटार गाउँपालिकाको जनसंख्या १० वर्षमा घटेर १४ हजार ६ सय ३७ पुगेको छ भने ०६८ मा १५ हजार ७ सय ३४ जनसंख्या रहेको बौदीकालीको जनसंख्या १० वर्षमा घटेर ११ हजार ३ सय ३८ पुगेको छ।

यस्तै मुख्य राजमार्गले नछोएको अर्को स्थानीय तह हुप्सेकोट गाउँपालिकाको जनसंख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ। ०६८ को जनगणनामा २५ हजार ६५ जनसंख्या रहेको हुप्सेकोटको जनसंख्या १० वर्षपछि ०७८ मा २६ हजार ५ सय ८३ पुगेको हो।

यता पूर्व पश्चिम राजमार्गले छोएका स्थानीय तहको जनसंख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ। जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाको जनसंख्या वृद्धिदर जिल्लामा सबैभन्दा बढी छ।

राष्ट्रिय जनगणना २०७९ अनुसार ३ दशमलव १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसंख्या ८६ हजार ८ सय २१ पुगेको छ। राष्ट्रिय जनगणना ०६८ मा कावासोती नगरपालिकाको जनसंख्या ६२ हजार ४ सय २१ रहेको थियो।

जनसंख्या बढ्ने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ। २ दशमलव ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसंख्या ५८ हजार ३ पुगेको छ।

०६८ मा देवचुलीको जनसंख्या ४२ हजार ६३ रहेको थियो। २ दशमलव ८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैंडाकोट नगरपालिकाको जनसंख्या २०७९ मा ७९ हजार ३ सय ४९ पुगेको छ।

यहाँ दश वर्षअगाडि ५८ हजार ८ सय ४१ जनसंख्या रहेको थियो।

त्यसैगरी राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव १६ प्रतिशत रहेको छ। ०६८ को जनगणनामा ५४ हजार १ सय ४० जनसंख्या रहेको यो नगरपालिकाको जनसंख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ४६ प्रतिशतले बढेको छ। ०६८ को राष्ट्रिय जनगणनामा ३२ हजार ९ सय ४३ जनसंख्या रहेको यहाँको जनसंख्या दश वर्षमा बढेर ३८ हजार ३ सय ७० पुगेको छ।

ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको देखिएको हो।

बढ्दो बसाइँसराइको कारणले पहाडमा जनसंख्या घट्दै गएको र यो चिन्ताको विषय भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए।

‘गाउँपालिकाले बसाइँसराइ रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रूपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिएको छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा र रोजगारीका लागि मानिस बसाइँसराइ गरिरहेका छन्, यसलाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रूपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौं।’

उनका अनुसार गाउँमा नै व्यक्तिलाई मासिक ३० देखि ५० हजारसम्म आम्दानी गर्नसक्ने बनाउन कृषिमा आधारित रोजगार र शिक्षालाई सहज र गुणस्तरीय बनाउन गाउँपालिकाले कार्यक्रमअगाडि बढाएको छ।

गाउँमा किन जनसंख्या घट्दै छ त्यसतर्फ स्थानीय तहले गम्भीर भएर सोच्नुपर्ने मध्यविन्दु बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक करुण लम्सालले बताए।

‘गाउँमा जनसंख्या टिकाउने हो भने पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउनेतर्फ स्थानीय तह लाग्नुपर्छ,’ उनले भने, ‘पूर्वाधारको विकाससँगै कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसंख्या गाउँमा पनि टिक्छ।’

प्रकाशित: १८ साउन २०८० १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =