अम्रिसोबाट करोड आम्दानी

हिमाल प्रेस १३ पुष २०८० ९:११
10
SHARES
अम्रिसोबाट करोड आम्दानी

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ। गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट २५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो।

यसबाट तीन करोड २६ लाख ३५ हजार आठ सय ५० रुपैयाँ आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए।

‘डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ’, उनले भने,‘यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपिएको छ, यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने छ।’

अम्रिसो व्यापारीले खरिद गरी भारत, बंगलादेशसम्म निर्यात गर्ने गरेको सूचना अधिकारी गौतमले बताए। यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ र बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको छ।

पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियत वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताए।

उनको भनाइमा जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियत वनमा अम्रिसो खेती लगाउने गरिएको छ।

यसअनुसार हुप्सेकोट गाउँपालिकाको राम्चे क्षेत्रमा १९ वन समूह छन्। यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी संख्या १९० रहेको छ।

बौदीकाली गाउँपालिकाको रुचाङ क्षेत्रका २५ वन समूहमा २२८ घरधुरी, बुलिङटार गाउँपालिका क्षेत्रका २५ समूहमा ३२५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा ३२५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा बस्ने अधिकांश सर्वसाधारणको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको हुप्सेकोट गाउँपालिका-५ का वडा अध्यक्ष पदमबहादुर रानाले बताए।

‘केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ’, उनले भने,‘बर्सेनि अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपैयाँसम्म आम्दानी गरेका छन्।’ रासस

प्रकाशित: १३ पुष २०८० ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =