माओवादी बैठक : केन्द्रीय सदस्यले उठाए नेताहरूको सम्पत्ति छानबिनको माग

हिमाल प्रेस १७ साउन २०८० १७:३२
12
SHARES
माओवादी बैठक : केन्द्रीय सदस्यले उठाए नेताहरूको सम्पत्ति छानबिनको माग

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक भोलि फेरि ११ बजे बस्ने गरी सकिएको छ। प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको बैठक पहिलो १८ जना सदस्यले धारणा राखेका छन्। बाँकी सदस्यहरूले क्रमश: मत राख्दै जाने छन्।

केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन र समसामयिक विषयमा धारणा राखिरहेका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले नागरिकमा नयाँ आशा पलाएको दाबी गरे।

प्रज्ञा भवन कमलादीमा बैठकको उद्घाटनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरूद्ध कठोर रहेको बताएका थिए।

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गरिसकेपछि बोल्ने समय पाएका केन्द्रीय सदस्यहरुले माओवादीकै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन्।

सहभागी ३८५ केन्द्रीय सदस्यमध्ये २० जनाले बोलिसकेका छन्। जसमध्ये अधिकांशले पार्टी नेतृत्व भ्रष्टाचारविरुद्ध कठोर हुनुपर्ने बताउँदै सबै नेताहरुको सम्पत्ति खोज्नुपर्ने कुरा उठाए।

आजको बैठकमा अध्यक्ष दाहालले माओवादी पार्टी माओवादी जस्तो नभएको भन्दै संगठन निर्माणमा ध्यान दिन सबैलाई आग्रह पनि गरेका थिए।

प्रकाशित: १७ साउन २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =