नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

हिमाल प्रेस १७ साउन २०८० ११:२४
16
SHARES
नापतौलमा ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल विभागले अनियमित नापतौल तथा गलत नाप्ने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ।

विभागले समयमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो।

महानिर्देशक दिनानाथ मिश्रका अनुसार नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले गत आव ०७९/८० मा विभागले विशेष निगरानी बढाएको थियो। यो क्रमलाई निरन्तरता दिइएको छ।

‘अनुगमनका क्रममा कतिपय व्यापारीले नाप यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको पाइएको छ,’ महानिर्देशक मिश्रले भने।

सबैभन्दा धेरै काठमाडौँ कार्यालयले कारबाही गरेको छ। काठमाडौँ कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन गर्दै आएको छ।

गत आवमा काठमाडौँमा मात्र ११ हजार ४९१ व्यापारी कारबाहीमा परेका छन्। यस्तै, पोखरामा २ हजार १८९, बुटवलमा १ हजार २४४, नेपालगञ्जमा १ हजार ४७९, सुर्खेतमा ५०१ र धनगढीमा १२६ व्यापारी कारबाहीमा परेका छन्।

यस्तै सिलगढीमा २०२, वीरगञ्जमा १ हजार ४३६, जनकपुरमा ७२५, विराटनगरमा २ हजार ४०६ र झापामा १ हजार ३३४ व्यापारीलाई कारबाही गरिएको छ।

प्रकाशित: १७ साउन २०८० ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 7 =