काठमाडौँका टोल–टोलमा पुग्दै नापतौल कार्यालयको ‘डोर टोली’

हिमाल प्रेस ५ पुष २०७९ ११:३३
4
SHARES
काठमाडौँका टोल–टोलमा पुग्दै नापतौल कार्यालयको ‘डोर टोली’ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ‘डोर टोली’ परिचालन गरेको छ। कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो।

कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘ डोर टोली’ परिचालन गरिएको जानकारी दिए। उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानुनअनुसार कारबाही गर्नेछ।

९ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ। सो कार्यालयबाट काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाको नापतौलसम्बन्धी काम हुँदै आएको छ।

सो कार्यालयले पछिल्लो समय नुवाकोटको विदुर, काठमाडौँको चन्द्रागिरि, धुम्बाराही तरकारी बजार, कुलेश्वर खाद्य व्यवसाय, टुकुचा तरकारी बजार, ललितपुर सुन चाँदी व्यवसाय, भक्तपुर सुन चाँदी व्यवसायलगायतको क्षेत्रमा टोली परिचालन गरिसकेको छ।

नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ। नापतौल अनुमति नलिने व्यवसायीलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिबाना गर्दै आइएको कार्यालय प्रमुख झाले बताए।

प्रकाशित: ५ पुष २०७९ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =