प्रचण्ड दबाबले गले कोशीका सभामुख, राजीनामा दिँदै

हिमाल प्रेस १६ साउन २०८० १०:१९
50
SHARES
प्रचण्ड दबाबले गले कोशीका सभामुख, राजीनामा दिँदै

काठमाडौँ- कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले बहुमत पुर्‍याएर आज मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पक्षमा ४७ मत जुटाएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी भइरहेको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेको समय सीमा आज बेलुका ५ बजे सकिंदैछ।

समयसीमा अघि नै बहुमत पुर्याएर मुख्यमन्त्री दाबी गर्ने र बहुमत नपुगे सभामुखको राजीनामा गराउने तयारी गरिएको स्रोतले बतायो। सत्तारुढ गठबन्धनले माओवादी केन्द्रबाट कोशी प्रदेशको सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत जुटाउने तयारी गरेको स्रोतले जनाएको छ।

गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सामेल गराउन चाहेपनि राप्रपा इच्छुक नदेखिएपछि सभामुखको राजीनामा नै सरकार बनाउने अन्तिम विकल्प बनेको छ।

उनलाई राजीनामा गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब दिएका थिए।

केही दिनयता नै राजीनामा गर्न दबाब दिए पनि आचार्यले इच्छा देखाएका थिएनन्। तर अन्य विकल्प नभएको भन्दै सभामुख अहिले तयार रहेको माओवादी निकट स्रोतको भनाइ छ।

माओवादीले सभामुखले राजीनामा गर्ने शर्तमा मुख्यमन्त्री पाउनु पर्ने माग राखेको थियो। तर कांग्रेसले आन्तरिक कारण देखाउँदै मुख्यमन्त्री दिन नसक्ने जनाएको थियो।

अघि कोशीमा कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले गत असार २१ गते सभामुख बाबुराम गौतमसहितको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।

थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार २२ गते नै सभामुखको समर्थनमा सरकार गठन गर्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।

सर्वोच्चको पूर्ण इजलासले निवेदनमाथि सुनुवाइ गर्दै साउन ११ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु संविधान विपरीत रहेको भन्दै नियुक्ती खारेज गरेको थियो।

सर्वोच्चले साउन ११ गते नियुक्ती खारेज गरेपछि कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले साउन ११ गते नै सरकार साउन १६ गते भित्र संविधानको धरा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए। सोही अनुसार कोशी प्रदेशका सभामुखलाई राजीनामा गराएर बहुमत पुर्‍याउने सत्तारुढ गठबन्धनका नेताहरूको तयारी गरेका हुन्।

कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ मत रहेको छ।९३ जना सदस्य रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ।

प्रकाशित: १६ साउन २०८० १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =