रसुवाको स्याफ्रुस्थित रसुवा प्रविधिक स्कुल। तस्बिर : रसुवा प्राविधिक स्कुल
काठमाडौँ– हिमाली जिल्लामा कार्यरत शिक्षकहरूले वार्षिक १५ हजार पोसाक खर्च पाउने भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका आर्थिक वर्ष २०८०/०८१ मा उच्च हिमाली जिल्ला (गोरखा जिल्लाको सिर्दिवास उत्तर, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोट) मा कार्यरत शिक्षकहरूले उक्त रकम पाउने उल्लेख छ।
अन्य जिल्लाका हकमा शिक्षकहरूले वार्षिक १० हजार पोसाक रकम पाउनेछन्। स्थानीय तहले शिक्षक कर्मचारीको पोसाक भत्ता चैत महिनाको तलबसँगै उपलब्ध गराउनुपर्ने शिक्षा मन्त्रालयले जनाएको छ।
‘यस आव २०८० चैतमा दिइने पोसाक सुविधा आगामी शैक्षिक सत्र २०८१ मा विद्यालयमा अध्यापन गर्ने शिक्षकका लागि भएकाले दोहोरो नपर्ने गरी वितरण गर्ने’ कार्यक्रम कार्यान्वयन पुस्तिकामा भनिएको छ।
सरकारले उक्त पोसाक भत्ता यस वर्ष बढाएको छैन र घटाएको पनि छैन। गत वर्ष पनि हिमाली जिल्लामा कार्यरत शिक्षकका लागि वार्षिक १५ र अन्य जिल्लामा कार्यरत शिक्षकहरूलाई १० हजार पोसाक भत्ता उपलब्ध गराएको थियो।


