चामल निर्यातमा भारतको प्रतिबन्धपछि नेपालमा खाद्यान्न भण्डारणमा चासो

हिमाल प्रेस १४ साउन २०८० २०:४३
18
SHARES
चामल निर्यातमा भारतको प्रतिबन्धपछि नेपालमा खाद्यान्न भण्डारणमा चासो फाइल तस्बिर।

काठमाडौँ- सरकारले चामललगायत खाद्यान्न भण्डारणका लागि छलफल गरेको छ। आइतबार मुख्य सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्री अनुगमन तथा मूल्यांकन समितिको बैठकमा खाद्य भण्डारण विषयमा छलफल गरिएको हो।

छलफलपछि मुख्य सचिव अर्यालले आवश्यक मात्रामा खाद्यान्न भण्डारण गर्न निर्देशन दिए। समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो। मुख्य सचिव अर्यालले बजारमा खाद्य उपलब्धताको सुनिश्चितता गर्न सरकारी र निजी क्षेत्रको सहभागितामा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्थापन गर्न निर्देशन दिए।

उपलब्ध सबै गोदाममा खाद्यान्न भण्डारण गर्नुपर्ने बैठकको निष्कर्ष थियो। यसअघि यही साउन ४ गते भारत सरकारले चामल निर्यातमा रोक लगाउने निर्णय गरेको थियो। भारत सरकारको उक्त निर्णयले विश्वभर चामल अभाव हुने अनुमान गरिएको छ। भारत सरकारको उक्त निर्णयलाई लिएर विश्व मुद्रा कोष (आईएमएफ)ले पनि प्रतिक्रिया दिएको छ। आईएमएफले भारत सरकारले उक्त निर्णय ‘रिभ्यु’ गर्नुपर्ने बताएको छ।

आइतबार सिंहबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले लम्पी स्किनको खोप व्यवस्थापन सम्बन्धमा पनि छलफल गरेको छ। पछिल्लो समय पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन विरुद्धको खोप उपलब्ध गराउन तीन दिनभित्र कार्ययोजना बनाएर खोप व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने समितिको निष्कर्ष छ।

प्रकाशित: १४ साउन २०८० २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =