जुम्लामा चामल अभाव, खाद्य कम्पनीले राेक्याे वितरण

हिमाल प्रेस २२ साउन २०८० १९:४४
8
SHARES
जुम्लामा चामल अभाव, खाद्य कम्पनीले राेक्याे वितरण फाइल तस्बिर।

जुम्ला- जुम्ला सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ। डिपो कार्यालयमा चामल आयात कम भएसँगै अभाव भएको हो।

चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए। आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि आठ हजार एक सय ४७ क्विन्टल चामलको कोटा थियो। अहिले डिपोमा ९ सय ५९ क्विन्टलमात्रै मौज्दात छ।

मौज्दात रहेको चामलमध्ये अति आवश्यकका लागिबाहेक अरूलाई वितरण गर्न नसकिने कार्यालय प्रमुख विष्टले बताए। कारागारका लागि दुई सय ८० क्विन्टल र जन्म तथा मृत्युका लागि एक सय ८० क्विन्टलमात्रै चामल छुट्याइएको छ।

थप आवश्यक दुई हजार क्विन्टल चामल माग गरिएको छ। मौज्दात रहेको चामल कारागार, विपत् र जन्म, मृत्युका लागिमात्रै वितरण गरिने कार्यालय प्रमुख विष्टले बताए। खाद्यान्न मौज्दात परिणाम न्यून भई साउन मसान्तमा ढुवानी हुनेगरी न्यूनतम दुई हजार क्विन्टल खाद्यान्न आपूर्ति गर्न प्रादेशिक कार्यालयमार्फत केन्द्रीय कार्यालयलाई परिपत्र गरिएको छ।

सरकारले जन्म र मृत्युमा प्रतिव्यक्ति २० केजी चामल दिने व्यवस्था गरेअनुसार जन्ममा सात सय ८५ र मृत्युमा ५९ जनालाई चामल वितरण गरिएको छ। जुम्ला कार्यालयबाट डोल्पाको काइगाउँ डिपोका लागि एक सय ७७ क्विन्टल र डोल्पाको सर्मीका लागि सात सय ५० क्विन्टल चामल पठाएको छ। रासस

प्रकाशित: २२ साउन २०८० १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =