मुगुमा खाद्यान्‍न संकट : एक पोका चामलका लागि ४ घण्टा पैदल

हिमाल प्रेस ३२ जेठ २०८० ११:४६
6
SHARES
मुगुमा खाद्यान्‍न संकट : एक पोका चामलका लागि ४ घण्टा पैदल फाइल तस्बिर।

मुगु– मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन ४ घण्टा हिँडेर बुधबार सोरुकोट आइन्। बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उन खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएकी हुन्।

‘घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ,’ उनले भनिन्, ‘गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन।’

नेपाली मात्रै नभई आठगाउँका बासिन्दा चामल किन्न सोरुकोट आउनुभएको छ। सोरुकोट डिपोमा पनि पर्याप्त मात्रामा चामल छैन। घण्टौं लाइनमा बसेर पनि उनीहरूले चाहेजति चामल पाउन सकेका छैनन्।

‘भोकभोकै पैतला दुखाएर सोरुकोट खाद्यान्न लिन आए,’ भीइ गाउँकी पानमती डागरले भने, ‘एक प्याकेट चामल पाउन पनि सास्ती भयो।’

सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ। गत वर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो।

ज्यालादारी गरी कमाएको पैसा बोकेर स्थानीयवासी चामल खरिद गर्न खाद्य डिपोदेखि व्यापारीको दैलो चहार्न थालेका छन्। केही स्थानीयले खेतबारीमा पाकेको गहुँ र जौँबाटै गर्जो टार्न थालेका छन्।

सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी भएको सोरु गाउँपालिका-३ का वडाध्यक्ष सिंह धामीको भनाइ छ। सोरुकोट खाद्य डिपोको वार्षिक चामलको कोटा एक हजार ५ सय क्विन्टल हो। उनीहरूलाई अनुदानको चामल पाउन मुस्किल हुने गरेको छ।

सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुस्कर भामको भनाइ छ। ‘चामलको कोटा बढाउन काम गर्दै आएका छौं,’ उनले भने।

प्रकाशित: ३२ जेठ २०८० ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =